प्राध्यापक संघ र कर्मचारीको माग पूरा गर्दै केयू



ईश्वरराज ढकाल, काठमाडौं ।

तीन दशक पूरा गरेको काठमाडौं विश्वविद्यालय (केयू) ले आज २७औं दीक्षान्त समारोह आयोजना गर्दै छ । दीक्षान्तको खुसी सँगसँगै केयूका प्राध्यापक र कर्मचारीमा अर्को खुसी पनि थपिएको छ । केयूले पूर्वउपकूलपतिका बेवास्ताका कारण पूरा हुन नसकेको प्राध्यापक संघ र कर्मचारीको माग पूरा हुने भएपछि उनीहरूको खुसी अभिवृद्धि भएको हो ।

दीक्षान्त समारोहको अघिल्लो दिन हिजो मंगलबार सिनेट बैठकपछि विश्वविद्यालयको नियमावलीमा दुई विषय थप्ने निर्णय भएको छ । केयू कार्यकारीको बैठकले केयू प्राध्यापक संघ र कर्मचारी नियमावलीलाई विश्वविद्यालयको नियमावलीमा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समयदेखिको मुद्दा र आन्दोलन लगभग टुंगिएको छ ।

केयू प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झा

केयूको यो निर्णयसँगै अब सिनेटमा प्राध्यापक संघले सिफारिस गरेका २ जना र कार्यकारीमा १ जनाको अनिवार्य प्रतिनिधित्व हुनेछ । उपकुलपति डा. भोला थापालाई एक वर्षअघि नयाँ उपकुलपतिका रूपमा स्वागत गरेको केही दिनमै सो माग पूरा गर्न आग्रह गरिएको जानकारी दिँदै केयू प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झाले भन्नुभयो– ‘बल्ल कार्यान्वयन भएको छ । मैले निर्णय भयो भन्ने सुनेको छु । तर, हाम्रो मागअनुसार भयो वा अन्य कुनै किसिमबाट भयो, त्यो बुझ्नै बाँकी छ ।’

उपकुलपति डा. थापाले प्राध्यापक र कर्मचारी माग पूरा गर्ने आफ्नो वचनअनुसार कार्यकारीको बैठकले नियमावलीमा थपिएको प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केयूका सबै प्राध्यापक र कर्मचारी साथीहरू खुसी भए मात्र केयूले सोचेको सपना पूरा गर्न सक्छ । त्यही भएर आफ्नो पद बहालीका क्रममा मैले दिएको वचन पूरा गरेको हुँ ।’

तत्कालीन उपकुलपति डा. रामकण्ठ माकजुको कार्यकालमा प्राध्यापक संघको कुनै पनि माग सुनुवाइ नभएको अवस्थामा एक वर्षअघि नियुक्ति हुनुभएका उपकुलपतिलगायत कार्यकारी परिषद्ले गरेको निर्णयलार्ई प्राध्यापक संघले स्वागत गरेको छ । हालका उपकुलपतिले केयूको हित अनुकूल काम गरेको भन्दै संघका पूर्वसभापति झाले भन्नुभयो– ‘विगत ३० वर्षे इतिहासमा केयूले गरेको यो निर्णय ऐतिहासिक र स्वागतयोग्य छ । अब यसलाई कार्यान्वयन गर्नु हामी सबैको कर्तव्य हो ।’ उहाँले पूर्वउपकुलपलिले प्राध्यापक संघलाई मान्यता नै नदिएर संघले आयोजना गरेको सबै कार्यक्रम बहिष्कार गर्ने गरेको जिकिर गर्दै अहिले उपकुलपति र पदाधिकारीले संघलाई पूर्णरूपमा मान्यता दिएको बताउनुभयो । पछिल्लो समय विश्वविद्यालयमा देखिएको कर्मचारीतन्त्र, आफ्नालाई पद दिएर अन्यलाई कारबाही गर्ने व्यवहार, अधिकारको विषय र शिक्षकले पाउने सेवा सुविधालगायतका विषयमा विभेद भइरहेकोमा पछिल्लो समयमा त्यो क्रम रोकिएको पनि कर्मचारी तथा प्राध्यापकको भनाइ छ ।

३० वर्षमा केयूले तीन जनामात्र उपकुलपति पाएको छ । संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले ६ वर्षे कार्यकाल, प्राडा रामकण्ठ माकजुले दुई कार्यकाल पूरा गर्नुभएको थियो भने गत वर्ष मात्रै प्राडा थापाले उपकुलपतिको वागडोर सम्हाल्नुभएको हो । प्राध्यापक संघ र कर्मचारीको माग पूरा गर्ने विषयमा चासो नदेखाएपछि उपकुलपति प्राडा शर्माले छैटौं कार्यकालको पहिलो वर्षमै राजीनामा दिन बाध्य हुनुभएको थियो । त्यसपछि उहाँकै चाहनामा प्राडा माकजुलाई उपकुलपति बनाइएको थियो ।

प्राडा शर्माको कार्यकालयसम्म प्राध्यापक र कर्मचारीको बृत्तिविकास भएको बताइन्छ । उहाँको कार्यकालमा अधिकांशले पढाइसँगै काम गर्ने अवसरसमेत पाएका थिए । तर, शिक्षण कार्यक्रम भने त्यति विकास हुन नसकेको केयूका प्राध्यापकसमेत रहनुभएका झाले नेपाल समाचारपत्रलाई बताउनुभयो । पूर्वउपकुलपति प्राडा शर्माको तीन कार्यकालपछिको समय केयूका लागि प्रतिकूल रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यहाँसम्म कि हाम्रो पेन्सनको समेत व्यवस्था गरिएको थिएन । यो विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीको संघ–संगठन चाहिँदैन भन्दै पूर्णरूपमा निषेध गरिएको थियो ।’

प्राध्यापक संघको अगुवाइमा केयूका प्राध्यापकहरूले विसं २०६२/२०६३ पछि आफ्नो वृत्ति विकास र संघलाई मान्यता दिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । प्राध्यापकको मागको सुनुवाइ नगरेका कारण केही समय केयूको पठनपाठन ठप्प भए तापनि माग पूरा गर्ने विषयमा चासो नदेखाएको प्राध्यापक झाको भनाइ थियो ।

उपकुलपतिले अति गर्न थालेपछि आफूहरू कडा आन्दोलनमा उत्रन बाध्य भएको बताउँदै तत्कालीन प्राध्यापक संघका अध्यक्षसमेत रहनुभएका झाले भन्नुभयो– ‘उपकुलपति प्राडा थापाले हाम्रो माग पूरा गर्ने वचनबद्धता दिनुभएको छ । पदबहाली हुनासाथ प्राध्यापक र कर्मचारीले आयोजना गरेको सबैजसो कार्यक्रममा उपस्थित हुने गर्नुभएको छ । त्यसैले अब आन्दोलन गर्नुपर्ने अवस्था आउला जस्तो लाग्दैन ।’

उपकुलति प्राडा थापाले सबैको साथ र सहयोगबाट मात्रै केयूलाई नेपालको अग्रणी विश्वविद्यालय बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘३० वर्ष लामो इतिहास बोकेको यो विश्वविद्यालयले धेरै काम गर्नुछ । गुणस्तरीय शिक्षामा जोड दिनुपर्नेछ । सुगममा मात्रै नभई दुर्गम क्षेत्रमा समेत उपस्थिति जनाउनुपर्नेछ । प्राध्यापक र कर्मचारीको क्षमतावृद्धि गर्नुपर्नेछ ।’केयूमा हाल करिब ३ सय ४० जना प्राध्यापक र त्यतिकै संख्यामा कर्मचारी छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्