कोइरालाको चुनौतीमा सिंह र निधिको शरण

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका शेखर कोइराला भावी नेतृत्व लिने रणनीतिका साथ लगातार पार्टी संगठन निर्माणमा जुटेका थिए । पार्टीभित्रको आन्तरिक राजनीति होस् वा राष्ट्रिय राजनीतिका बारेमा आफ्नो स्पष्ट विचार राख्ने कोइराला १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभयो ।

गुट–उपगुटको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकटतम रहनुभएका कोइरालासहित संस्थापनइतर समूहबाट पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला सभापतिका आकांक्षी देखिए । साझा उम्मेदवार बनाउने लामो रस्साकस्सी सहमति हुन नसकेपछि अन्ततः यो समूहबाट सिंह र कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । आफ्नो समूहमा साझा उम्मेदवार चयन हुन नसकेपछि कोइरालाले भनेका थिए– ‘आकांक्षी सबै चुनाव लडौं पछि जसको बढी मत आउँछ उसैलाई समर्थन गरौं ।’ दोस्रो चरणमा सिंह देउवातिरै लागे ।

लामो समय देउवा समूहमा रहेका सिंह २०६६ सालदेखि पौडेल समूहमा आएका थिए । २०७४ सालको निर्वाचनपछि संसदीय दलको नेता उठेर देउवालाई चुनौती दिएका सिंह पछिल्लो समय देउवाको खरो आलोचक थिए । नेतृत्वका कारण कांग्रेस कमजोर भएको र गत निर्वाचन पनि नराम्रोसँग हारेको भन्दै सिंहले योपटक देउवालाई जसरी पनि नेतृत्वबाट हटाउने बताउँदै आएका थिए ।

अधिवेशनमा सभापतिको उम्मेदवारी दिँदै मतदाताहरुसँग गरेको प्रतिबद्धता हेर्ने हो भने सिंहले देउवालाई किन समर्थन गरे भनेर जो कोहीले औंला उठाउने ठाउँ भेटिन्छ । सिंहको प्रमुख कुरा नै नेतृत्वमा देउवा असफल भए भन्ने थियो । पहिलो चरणमा देउवासँग प्रतिस्पर्धा गर्न नसकेका सिंहले दोस्रो चरणमा देउवालाई नै साथ दिएर नेतृत्व परिवर्तनको ठूलो अवसर किन गुमाए भन्ने अर्को नैतिक प्रश्न खडा भएको छ।

महाधिवेशनमा सहभागी कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ३ सय ७१ प्रतिनिधिको मत मात्र पाएका सिंहले पार्टीको आगामी राजनीतिमा नेतृत्वमाथि प्रश्न गर्ने नैतिक हैसियत राख्छन् कि राख्दैनन् हेर्न बाँकी रहेको केन्द्रीय सदस्यका उम्मेदवार मधुप्रसाद आचार्य बताउनुहुन्छ ।

यता, कांग्रेसभित्र नेतृत्व परिवर्तनको नारा दिँदै तीन महिना अघिदेखि सभापतिको उम्मेदवारी घोषणा गर्दै आएका विमलेन्द्र निधिले जम्मा २ सय ५० मत पाएर सिंहभन्दा कमजोर देखिए । आफ्नो गृह प्रदेश दुई नम्बर प्रदेशमा समेत अत्यन्त कमजोर सावित भएका निधिले पनि अन्ततः देउवालाई समर्थन गरेका थिए ।

निधिले भन्नुभयो– ‘मेरो नेतृत्व परिवर्तन गर्ने चाहना थियो तर मतदाताको त्यो चाहना देखिएन ।’ सिंह र निधिको मतपरिणाम हेर्दा कांग्रेसले अत्यन्तै सम्मान गर्नुपर्ने नेताहरु गणेशमान सिंह र महेन्द्रनारायण निधिको विरासत झल्किएको देखिन्छ । १४औं महाधिवेशनमा गणेशमान पुत्र र महेन्द्रनारायण पुत्रको नेतृत्व परिवर्तन गर्ने चाहना र अवसरलाई बेवास्ता गर्दै पुनः देउवाको पछि लागेपछि आम कार्यकर्ताले अवसरवादीको संज्ञा दिएका छन् ।

यो अधिवेशनमा शेखर कोइरालालाई दोस्रो चरणमा प्रवेश गर्न त्यति सहज थिएन । पहिलो चरणमै ५० प्रतिशत कटाएर विजयी हुने अनुमान गरिरहेका देउवा समूहलाई रोक्न मात्र हैन झन्डै जितको नजिक पुगेका कोइरालालाई आफ्नैको साथ थिएन । सुजाता कोइराला सिंह प्यानलमा थिए भने डा. शशांक कोइराला शेखरको पक्षमा खुलेर लागेनन् ।

आफ्नो समूहको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल मतदान नै गर्न नआएको अवस्था आफ्नै समूहका अर्का प्रत्यासी सिंह कोइरालाविरुद्ध मोर्चाबन्दीमा थिए । राष्ट्रिय राजनीतिमा आए कुनै पनि लाभको पदमा नबसेका शेखरले आन्तरिक एकताको प्रतिकूल अवस्थामा पनि पहिलो चरणमै देउवालाई चुनौती दिने गरी १ हजार ७ सय २ मत ल्याएपछि देउवाको विकल्पको नेताका रूपमा स्थापित भए ।

देउवाको इमानदारितामाथि प्रश्न

कांग्रेस नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः पार्टी सभापतिमा विजयी हुनुभएको छ । राष्ट्रिय राजनीतिमा चतुर खेलाडीका रूपमा परिचित देउवा पाँचपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् ।

कांग्रेसको १२औं महाधिवेशनपछि पार्टीभित्र ४० प्रतिशतको भागवण्डा लिएर गुटगत राजनीति गर्दै आउनुभएका नेता देउवाले १३औं महाधिवेशनमा सभापति जित्न धेरै मिहेनत गर्नुभएको थियो ।

यो अधिवेशनमा जस्तै अघिल्लो अधिवेशनमा पनि देउवाले भन्नुभएको थियो– ‘नेपाली कांग्रेसको आन्तरिक जीवनलाई व्यवस्थित, गतिशील र लोकतान्त्रिक बनाउने काम बाँकी छ ।’ पार्टीका कतिपय महत्वपूर्ण वैधानिक व्यवस्थालाई व्यवहारमा अनुवाद गर्न सकिएको छैन ।

२१औं शताब्दीको आवश्यकताअनुसार पार्टीलाई वैज्ञानिक व्यवस्थापनमा ढाल्न सकिएको छैन । वैचारिक बहस र प्रशिक्षणलाई पार्टीको जीवन पद्धति बनाउन बाँकी नै छ । भ्रातृ संगठनका अधिवेशन समयमा हुन नसक्दा संगठन विस्तार र नेतृत्व विकासमा गम्भीर अवरोध पैदा भएको छ । तराई–मधेस, पहाड र हिमाली क्षेत्रका बसोबासी महिला, दलित, आदिवासी÷जनजाति, मुस्लिम, थारू र अल्पसङ्ख्यक तथा गरिब, निमुखा र सीमान्तकृत जनतामाझ हाम्रो सहज पहँुच स्थापित हुन सकेको छैन ।’

पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान् र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीहरूलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्यभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागिता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन । १३औं अधिवेशनकै प्रतिबद्धतामा भनिएको थियो– ‘यी सबै काम पूरा गर्ने नेतृत्वका लागि म दृढ र कृतसंकल्पित छु ।

अहिले १४औं महाधिवेशनमा पनि सभापति हुन त्यही कुरा दोहोर्याएर भोट माग्नुभएको छ । पार्टी संगठनलाई अझ चलायमान र सशक्त ढंगले अघि बढाउँदै आउँदो निर्वाचनमा स्थानीय, प्रदेश र संघीय तीनै तहमा कांग्रेसलाई विजयी गराउने उद्घोष र प्रतिबद्धताका साथ पुनः नेतृत्व लिनुभएका सभापति देउवा एकथोक भन्ने अर्कोथोक गर्ने नेता हुनुहुन्छ ।

१३औं महाधिवेशनमा मत माग्दै गर्दा गरेको प्रतिबद्धता पल्टाए हेर्ने हो भने देउवाले अहिले मत माग्दा गरेको प्रतिवद्धता केवल प्रतिबद्धता मात्र हुन्छ भन्ने कुरामा शंका गर्न सकिन्छ । १३औं महाधिवेशनमा सुदृढ कांग्रेसका लागि सबल नेतृत्व भन्दै पार्टी संगठन चलायमान बनाउन बुँदागत रूपमा प्रतिबद्धता व्यक्त गर्दै मत माग्नुभएको थियो ।

नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने भनी अघिल्लो महाधिवेशनमा गरेको प्रतिबद्धता पूरा नगरेका देउवाले अहिले पनि सोही प्रतिबद्धता व्यक्त गर्दै नेतृत्व हत्याउनुभएको छ ।

भ्रातृ संस्थाहरूलाई पार्टीको नीति र कार्यक्रममार्फत परिचालित र निर्देशित गरिनेछ । पार्टीको नीति र कार्यक्रमको अधीनमा रही भ्रातृ संस्थाहरूलाई स्वतन्त्ररूपमा काम गर्न दिइनेछ ।

भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया तत्काल आरम्भ गरिनेछ । भ्रातृ संस्थामार्फत नेपाली कांग्रेसभित्र युवा, विद्यार्थी, महिला, दलित र अन्य पछाडि परेका वर्ग समूहकोे सहभागितालाई व्यापक विस्तार गरिनेछ । यी सबै प्रतिबद्धता अघिल्लो अधिवेशनकै भए पनि अर्को अधिवेशनसम्म पनि यो पूरा हुनेमा शंका छ । कांग्रेसको सशक्त भ्रातृ संस्थाका रूपमा रहेको नेपाल तरुण दल वर्षौंदेखि चार नेताको भरमा रहेको कांग्रेसभित्र सबैलाई थाहा छ ।

पार्टीका विभागहरूलाई तत्काल क्रियाशील गराई पार्टी निर्माणको अभिन्न अंगका रूपमा संस्थागत गरिनेछ । सम्बन्धित विभागहरूलाई नीतिनिर्माण र संगठन विस्तारको पूर्ण जिम्मेवारी दिइनेछ भनिए पनि आफ्नो कार्यकाल सकिने बेलासम्म विभागको अवस्था के भयो भन्ने प्रश्नले पनि देउवाको इमानदारितामाथि शंका उतपन्न भएको छ ।

यति मात्र हैन कांग्रेसभित्र ‘महारोग’ का रूपमा रहेको क्रियाशील सदस्यता विवादलाई अन्त्य गर्ने कुरालाई पनि सभापति देउवाले प्रमुखताका साथ सम्बोधन गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

हरेक विषयमा बँुदागत रूपमा लिखित प्रतिबद्धता गर्नुभएका देउवाले १३औं महाधिवेशनको संघारमा भन्नुभएको थियो– ‘पार्टीको क्रियाशील सदस्यता दिने विषयलाई लिएर हुने गरेको अनिश्चितता र असुरक्षाको स्पष्ट मापदण्डको आधारमा क्रियाशील सदस्यता दिने व्यवस्थालाई संस्थागत र पारदर्शी बनाइनेछ । यसपटको विवाद झन् छताछुल्ल भएको छ ।’

पार्टीको आर्थिक व्यवस्थापनलाई पूर्णरूपमा पारदर्शी बनाइने र यसका लागि स्थायी लेखा विभागको व्यवस्था गरी आर्थिक हिसाबकिताबलाई नियमित रूपमा सार्वजनिकीकरण गरिने मात्र हैन पार्टीको क्रियाशील सदस्यता दिने विषयलाई लिएर हुने गरेको अनिश्चितता र असुरक्षाको स्पष्ट मापदण्डको आधारमा क्रियाशील सदस्यता दिने व्यवस्थालाई संस्थागत र पारदर्शी बनाइने देउवाको कुरा पनि पाँच वर्षदेखि प्रतिबद्धतामै सीमित छ ।

पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने र पार्टीको निर्वाचनलाई लिएर हुने गरेको अनिश्चितता अन्त्य गर्न र स्वतन्त्र एवं निष्पक्ष ढंगले पार्टी तथा भ्रातृ संगठनहरूको निर्वाचन सम्पन्न गर्न पार्टीको आफ्नै स्थायी निर्वाचन आयोगको व्यवस्था गरिने भनेर अघिल्लो अधिवेशनमै देउवाले भन्नुभएको थियो ।