सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ: सभामुख सापकोटा


काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।” जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उहाँले भन्नुभयो, “म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीका साथ पूरा गर्नेछु ।”

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले कर्मचारीका सेवा सुविधा र हित संरक्षण गर्दै लक्ष्यप्राप्तिमा आवश्यक ध्यान दिइने प्रतिबद्धता जनाउनुभयो ।

सचिवालयका सचिव ध्रुवप्रसाद शर्माले सरकारको काम कारवाही निगरानी गर्ने संसद सेवालाई मर्यादित्, गरिमामय र आकर्षक तुल्याउने प्रयास भइरहेको बताउनुभयो । संसद् कर्मचारी यूनियनका अध्यक्ष नवराज नगरकोटीले संसद् सेवाको ओज र सेवा सुविधा बढाउन नेतृत्वबाट पहल आवश्यक रहेको आँैल्याउनुभयो ।

संसद् सेवामा आकर्षण बनाउन नसकेका कारण लोकसेवा उत्तीर्ण भएर आउने जनशक्तिलाई टिकाइ राख्न पछिल्लो समय चूनौति रहेको सो अवसरमा जानकारी दिइयो । संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वोत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषण गरियो ।

वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०-५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो । यस वर्षको संसद् सेवा दिवसको मूल नारा लगनशीलता र कर्तव्य निष्ठा:  संसद् सेवाको प्रतिष्ठा तय भएको थियो ।संसद्लाई स्वतन्त्र तवरले विशेषज्ञ प्रकृतिको सेवाका रुपमा स्थापित गर्न विस् २०५८ मङ्सिर २८ गते स्वायत्त संसद् सेवा गठन गर्न ऐन जारी भएको दिनको सम्झनामा सङ्घीय संसद् सेवा दिवस मनाइँदै आएको छ ।

विगतमा केही वर्ष संसद् नरहेको अवस्थामा दिवस मनाउने काम रोकिएकामा २०६४ सालबाट पुनःआरम्भ गरिएको थियो । सभामुख सापकोटाले समारोहमा सङ्घीय संसद् सचिवालयको वार्षिक प्रकाशन स्मारिका लोकार्पण गर्नुभयो । यस वर्ष संसद् दिवसका दिन अर्थात् आजैबाट हिउँदे अधिवेशन प्रारम्भ हँुदैछ ।