कांग्रेस सभापतिमा प्रकाशमानले देउवालाई सहयोग गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने घोषण गरेका छन् । आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उनीहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने , “अगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ ।”

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो ।
महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।
मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।