बोगटान सडक जोडिएपछि बस्ती वितारमा तीव्रता



विमल विष्ट, डोटी ।

जिल्लाको सबैभन्दा पुरानो शिलान्यास भएको सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक जोडिएपछि अहिले यहाँका विभिन्न ठाउँमा बस्ती विस्तारले तीव्रता लिएको छ ।

केही सयम पहिले सुनसान रहेका यहाँ सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रममा तीव्ररूपमा बढेको स्थानीयवासी बताउछन् । सडक निर्माणको शुरुआतीको समयमा सुनसान रहेका यहाँका बस्तीहरु सडक जोडिएपछि क्रमशः बाक्लिँदै गएका बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले बताउनुभयो । ‘सडक नजोडिँदा सुनसान थियो, अहिले सडक सञ्जाल जोडिएपछि धमाधम बस्ती विस्तार हुँदै छ । अहिले शहरभन्दा यहाँ बढी चहल–पहल हुन्छ ।’ –उहाँले भन्नुभयो ।

बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घर–जग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिकाका स्थानीयवासी तथा सञ्चारकर्मी हिक्मत बमले बताउनुभयो । ‘पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय राम्रो फस्टाएको छ ।’ –उहाँल भन्नुभयो । वर्षौंपछि उक्त सडक जोडिएपछि कैलालीको हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको बीपीनगर, बर्छैन, घोडीलास, कापडीगाड, पात चिउरी, रुमाइल, अत्तरकाँडा लगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयबासी बताउँछन् ।

यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको भए पनि उक्त सडक जोडिएको कम्तीमा पनि चार महिनामा जग्गाको कारोबारमा एकाएक वृद्धि भएको भन्दै बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी पदमसिंह बडैला भन्नुहुन्छ– ‘बीच खेतबाट सडक निर्माण गर्दा राम्रै भएको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै छ ।’ सडक बनेपछि ग्रामीण भेगहरू दिनहुँ व्यापारि केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकामसरह हुन थालेको बताइएको छ । यहाँका गाउँको बाटो हुँदै सडक खुलेपछि पसल, होटलसँगै व्यापारिक कारोबार पनि बढेको छ ।

सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने सडक खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेकाले स्थानीयको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । ‘शहरभन्दा यहाँका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करिब करिब बन्द भएका छन् ।’ –उहाँले भन्नुभयो । बीपीनगर, भक्तपुर, खड्यौली, बर्छैन, कापडीगाड तथा शिवनगर क्षेत्रमा ठूल्ठूला व्यापारिक भवन निर्माण भइरेका र सञ्चालनमा समेत आउन थालेका छन् । पछिल्लो समय ती स्थानमा घर–जग्गाको मूल्य अकासिएको छ । बीपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा २ लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयबासी बताउँछन् ।

गाउँका जग्गा सस्तोमा बेचेर शहरी क्षेत्रमा गएका समेत सडक खुलेपछि पुनः गाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ बीपीनगरका रोजबहादुर कलेलले बताउनुभयो । सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका बीपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्