अपडेट : ४१७४ मत गन्दा १९९५ मतसहित देउवा अगाडि, अब ५०० मत गन्न बाँकी

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार ४ हजार १७४ मत गणना हुँदा सभापति देउवाले १,९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १७ मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४ हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।