सुन तस्करी प्रकरणका लगानीकर्ता धरौटीमा छुटे



हरिहर नेपाल, विराटनगर ।

मोरङ उर्लाबारीका सनम शाक्यको हत्या एवं साढे ३३ किलो सुन तस्करी मुद्दामा मुछिएका एमके मामा भनिने मोहनकुमार अग्रवाललाई जिल्ला अदालत मोरङले सोमबार ३ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

सोमबार आफ्ना कानुन व्यवसायीको साथ लागेर अदालत उपस्थित भएका सुनसरीको धरान उपमहानगरपालिका–३ का अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

अदालतले बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएसँगै अदालत उपस्थित भएकै दिन अग्रवाललाई धरौटीमा छुट्ने बाटो खुला भएको छ । वादी नेपाल सरकारका पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले बहस गर्नुभएको थियो । प्रतिवादी अग्रवालका पक्षमा वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता शान्तिराम भण्डारीले बहस गर्नुभएको थियो । जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार अग्रवाल अदालतले तोकेको धरौटी बापत्को रकम बुझाएर सोमबार नै छुटेका छन् ।

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अग्रवाललाई धरौटीमा छाड्न आदेश भएको जानकारी उहाँले दिनुभयो । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा चलिरहेको छ ।

‘अदालतले अग्रवाललाई विभागमा उपस्थित हुन पनि आदेश दिएको छ ।’ –स्रेस्तेदार राणाले भन्नुभएको छ । सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले असोज १९ गते गरेको थियो । पक्राउ परेका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश लम्सालकै इजलासले मुद्दाको फैसला गरेको हो ।

अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको हो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा समेत कसूर कायम गर्दै अदालतले गोरेलाई सजाय पनि निर्धारण गरिसकेको छ । प्रतिवादीमध्ये भारतीय नागरिक राजनकुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो ।

अग्रवाल गायब बनाइएको उक्त सुनका लगानीकर्ता रहेको अनुसन्धानबाट खुलेको थियो । दुबईदेखि नेपालमा तस्करी हुने सुनको मुख्य लगानीकर्ताका रूपमा उनलाई मुद्दाको प्रतिवादी बनाइएको हो । तस्करी भएर दुबईबाट भित्रने सुन भारततिर कटाउने धन्दामा समेत उनको संलग्नता देखिएको दाबी सरकार पक्षको थियो ।

२०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो । दोषी ठहर भएकामध्ये ठकुरी, काफ्ले र कार्की सनमको शव २०७४ फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका अभियुक्त हुन् । हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरु सबैलाई सफाइ दिएको छ ।

प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरु सबैले मुद्दामा सफाइ पाएका हुन् । स्रेस्तेदार राणाका अनुसार संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा अभियुक्तमध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्