आज संसद् बैठक बस्दै, ६ वटा अध्यादेश पेस हुने

एमालेले अवरोध कायमै राख्ने



काठमाडौं, (नेस) ।

संघीय संसद्को आजबाट शुरु हुने हिउँदे अधिवेशनमा विधेयक प्रमुख एजेन्डा हुने भएको छ । यस अवधिमा दुईपटक प्रतिनिधिसभा विघटन हुुनुका साथै संसद् पुनःस्थापित भएपछि पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध कायमै राखेकाले संसद् सचिवालयमा रहेका ५५ वटा विधेयक अगाडि बढ्न सकेको छैन । संसद् सहज रूपमा सञ्चालन हुन नसक्दा सरकार विधेयकमार्फत अगाडि बढेको छ ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस हुने भएको छ । संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख गरेको छ । आज दिउँसो २ बजे बस्ने बैठकमा शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्ने कार्यक्रम रहेको छ । उहाँले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेस गर्नुहुनेछ ।

त्यसै गरी, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश–२०७८, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले बताएको छ ।

संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसद्को पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ । संसद् सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसद, कर्मचारीलगायतको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण सम्पन्न भएको बताएको छ ।

यसैबीच नेकपा एमालेले संसद्मा आफ्नो दलले गर्दै आएको अवरोधलाई निरन्तरता दिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूले अगाडि सारेको माग सम्बोधन नहुँदासम्म संसद्मा जारी अवरोध कायमै राखिने बताउनुभयो । यसअघि पनि संसद् बैठक शुरु हुनासाथ एमालेका सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै विरोध जनाउँदै आएका थिए ।

दोस्रोपटक संसद् पुनःस्थापित भएपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका सांसदलाई संसद्मा प्रवेश गर्न दिन नहुने अडान राख्दै सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै अवरोध गरेको थियो । संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो । जसका कारण संसद् बैठक सहज रूपमा सञ्चालन हुन सकेन । संसद् बैठकमा एमालेले निरन्तर रूपमा अवरोध कायमै राखेकाले सदनमा विधेयक प्रस्तुत हुन समेत सकेन ।

एमालेलाई सहमतिमा ल्याउने सरकार र सभामुखको प्रयास असफल हुँदै आएको छ । यसले गर्दा प्रतिनिधिसभामा रहेका ३७ र राष्ट्रिय सभामा रहेका १८ वटा विधेयक अगाडि बढ्न सकेको छैन । विधेयक सहज रूपमा अगाडि नबढ्दा महत्वपूर्ण मानिएका विधेयकहरू अलपत्र अवस्थामा रहेको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ५५ वटा विधेयक विचाराधीन अवस्थामा रहेको छ । उहाँले अब बस्ने संसद् बैठकमा विचाराधीन विधेयकहरू अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

संसद् अवरोध कानुन विपरीत : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरोध गर्नु कानुनविपरीत रहेको बताउनुभयो । उहाँले अघिल्लो अधिवेशनमा एमालेले गरेको संसद् अवरोध कानुन र नियमसम्मत नरहेको बताउनुभएको हो ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले एमालेले संसद्मा गरिरहेको अवरोध संविधान, नियम र कानुनअनुसार नभएको नेपाली जनताले बुझिसकेको जिकिर गर्नुभयो । सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गर्दै नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको दाबी गर्नुभयो ।

संसद्मा राजनीतिक पार्टीहरूकै भूमिका निर्णायक हुने आफूले त केवल समन्वय मात्रै गर्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘संसद्मा अवरोध हटाउन समन्वय गरिरहेको छु । आवश्यक परे विपक्षी दलसँग छलफल गर्नेछु ।’ उहाँले हिउँदे अधिवेशनको मुख्य एजेन्डा विधेयकमै केन्द्रित रहने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्