कांग्रेस महाधिवेशन : निर्वाचन शान्तिपूर्ण, परिणामबारे आम कौतुहलता



रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ । सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले पहिलो चरणमै बाजी मार्छन् कि रोकिन्छन् भन्ने प्रमुख चासो रहेको छ ।

कांग्रेस विधानमा सभापतिका लागि दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नकटेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि निर्वाचन गर्नुपर्ने हुन्छ । अघिल्लो महाधिवेशनमा सभापति देउवाले दोस्रो चरणमा मात्रै जित हात पार्नुभएको थियो ।

सभापतिका पाँच उम्मेदवारमध्ये देउवाको प्रतिस्पर्धीका रूपमा डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई हेरिएको छ । विमलेन्द्र निधि र कल्याण गुरुङलाई तुलनात्मकरूपमा कमजोर प्रतिस्पर्धीका रूपमा लिइए पनि उहाँहरूले प्राप्त गर्ने मतले पनि सभापतिको निर्वाचन पहिलो चरणमै टुंगिन्छ कि दोस्रो चरणमा जानुपर्ने हुन्छ भन्ने निर्धारण गर्नेछ । पहिलो चरणमै जित हात पार्न नसके दोस्रो चरण देउवाका लागि फलामको चिउरा चपाएसरह हुने केन्द्रीय सदस्यका उम्मेदवार मधुप्रसाद आचार्य बताउनुहुन्छ ।

मतदानपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापतिका उम्मेदवार निधिले भन्नुभयो– ‘सभापतिको कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत कटाउने सम्भावना मैले देखेको छैन ।’ महाधिवेशन प्रतिनिधिको जोडघटाउको जिम्मा पाएका देउवा सचिवालयका एक सदस्यले नेपाल समाचारपत्रलाई देउवाले पहिलो चरणमै बाजी मार्ने रिर्पोट आएको बताए । अर्का उम्मेदवार सिंह र कोइरालाले पनि पहिलो चरणमै आफूले जित्ने दाबी गर्नुभएको थियो ।

मतदानकै क्रममा देउवा सचिवालयले वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शशांक कोइराला देउवा प्यानलमा आएको भन्दै भ्रमपूर्ण प्रचार गरेको भन्दै पौडेल र कोइराला सचिवालयले कडा प्रतिवाद गरेको थियो । मतदान शुरु हुनुअघि केही मतदातालाई बोलाएर छलफल गर्नुभएका पौडेलले मतदानमा भाग नलिएको उहाँको सचिवालयले जनाएको छ । मतदान शुरू हुनुअघि बिहानै सभापतिका उम्मेदवार डा. शेखर कोइराला पौडेललाई भेट्न गएको र पौडेलले जितका लागि आशिर्वाद दिएको कोइरालाका निजी सचिव दिनेशचन्द्र थपलियाले बताउनुभयो । उहाँले देउवा र कोइराला दुवै प्यानलमा रहेका केन्द्रीय सदस्यको उम्मेदवार डा. शशांक कोइराला डा. शेखरकै प्यानलमा रहेको भन्दै देउवा प्यानलमै नाम राखेर मतदातालाई नामावली सूची बाँडेर भ्रम फैलाएको दाबी गर्नुभयो ।

कांग्रेसको १३ पदाधिकारीमध्ये दुई उपसभापतिका लागि ७ जनाको र दुई महामन्त्रीको लागि ६ जनाको प्रतिस्पर्धा छ । आठ सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । अधिवेशनमा कूल १ सय ३२ पदका लागि भएको निर्वाचनमा ४ सय ८० जना उम्मेदवारले भाग लिएका छन् । प्रदेश नम्बर २ को तर्फबाट केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रभावशाली नेताहरूले फरक प्यानलसहित नेतृत्वको दाबी गर्दै निर्वाचनमा होमिएपछि कांग्रेसको यो १४औं महाधिवेशन अत्यन्तै रोचक बनेको छ । अझ, दोस्रो पुस्ताका चर्चित नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता युवा नेता पार्टीभित्र शीर्ष नेताका रूपमा स्थापित हुने अवसर प्राप्त हुन्छ कि हुँदैन भन्ने पनि यही परिणामले फैसला गर्नेछ ।
सोमबार बिहान ढिलो गरी मतदान कार्यक्रम शुरु भएपछि राति अबेरसम्म मतदान कार्यक्रम जारी रह्यो । बिहान ८ बजेदेखि निर्धारण गरेको मतदान कार्यक्रम ११ बजेमात्र शुरु भएको थियो । पूर्वनिर्धारित समयसम्म दुई तिहाइ प्रतिनिधिले मात्र मतदान गरेपछि निर्वाचन समितिले राति ९ बजेसम्मका लागि मतदान गर्न समय थप गरेको थियो ।

एक जना मतदाताले १९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म मतदान गर्न समय लागेको थियो । मतदान शुरु गर्दै कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । लामो लाइन बस्नुपरेको र घण्टौंसम्म पनि मतदान गर्ने पालो नआएपछि प्रतिनिधिहरूले निर्वाचन समितिप्रति आक्रोश व्यक्त गरेका थिए । सभापतिका उम्मेदवार निधिले मतदान गर्न आफूलाई ५० मिनेट लागेको बताउनुभएको थियो ।

मतदान सकिएलगत्तै सभापतिको मतगणना गर्ने र सभापतिको निक्र्यौल भएपछि मात्र पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुने निर्वाचन समितिको तयारीअनुसार नै कार्य अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्