नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतदान सुरु हुने भनेपनि प्राविधिक कारणले ढीलो गरी मतदान शुरु भएको हो ।

महाधिवेशन प्रतिनिधि भने मतदान गर्न बिहानै देखि लाइनमा बसेका थिए । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरुमा मतदान गर्न लामबद्ध प्रतिनिधिहरुसँग उम्मेदवारहरु मत मागिरहेका छन् ।

कांग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको सङ्ख्या बढी भएकाले मतदानमा सहजताका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्