न्यायालयको आदेश शिरोधार्य छ : प्राडा शाह

0
Shares

धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत ६ महिनादेखि अस्तव्यस्थ छ । चारैजना पदाधिकारीको राजीनामासहित शुद्धीकरणको मुद्दा उठाएर यहाँका चिकित्सक, शिक्षक र कर्मचारी आन्दोलनरत छन् । पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरिएको छ । यस्तो अवस्थामा कसरी काम भइरहेको छ । समस्या समाधानमा के पहल भइरहेको छ भन्ने विषयमा प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहसँग नेपाल समाचारपत्रले गरेको कुराकानीको सारांश :

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा किन लफडा भइरन्छ, कसरी चलिरहेको छ अस्पताल ?
यो प्रतिष्ठान विभिन्न समयमा र विषयमा विवादरहित हुन नसकेकै हो । अहिले पनि परिस्थिति सहज छैन । यो हुनुमा बीपी प्रतिष्ठानको आन्तरिक समस्या र कोरोना महामारीको असर पनि छ । तर पनि यो प्रतिष्ठान मानव स्वास्थ्यसँग प्रत्यक्ष र हरक्षण सरोकार राख्ने सेवामूलक स्वास्थ्य प्रतिष्ठान भएकाले हामीहरुले आफ्नो ठाउँबाट सीमित स्रोतसाधनबाटै भए पनि जनमानसमा सेवा दिने काम गरिरहेकै छौं । विषम परिस्थितिमा पनि हामीले काम रोकेका छैनौं ।

सामान्य ल्याब टेस्टसमेत नपाएर दुःख पाइरहेको नागरिकले गरिरहेका छन् । यस विषयमा तपाईंको भनाइ के छ ?
अस्पताल प्रशासन न हिजो, न आज, न भोलि कहिले पनि मौन बस्न मिल्दैन । हामी मौन बसेकै छैनौं तर कतिपय सन्दर्भमा मैले अघि पनि भने सीमित स्रोतसाधन र कोरोना महामारीको विषम परिस्थितिले कतिपय अवस्थामा कहींकतै कमी–कमजोरी भएको हुन सक्छ । तर, हामी यसलाई सुधारेर लैजाने प्रयत्न गरिरहेका छौं ।

प्रदेश–१ को रिफरल सेन्टरबाट सामान्य समस्याका बिरामी पनि रिफर भएर गएको देखिन्छ । किन होला ?
आज अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि व्यापक प्रतिस्पर्धा छ । निजी अस्पताल पनि धेरै मात्रामा खुलेका छन् । मानिसमा पनि चेतनाको स्तर बढेकै छ । सबैको सबैतिर आफ्नै हिसाबको पहुँच पनि छ । त्यसो हुँदा विशेष परिस्थितिबाहेक हामी बिरामीलाई अन्यत्र रिफर गर्दैनौं ।

तर, कतिपय अवस्थामा बिरामी र बिरामीका आफन्तजनहरु आफ्नै हिसाबले सहज उपचारका मनाशयले अरू नै अस्पताल वा स्वास्थ्य संस्थामा जान चाहेका अवस्थामा चाहिँ हामीले उहाँहरुलाई रोक्न मिल्दैन । तपाईले भन्नुभए जस्तो यो अस्पतालले सामान्य बिरामीलाई अन्यत्र रिफर गरेको छैन ।

रिफर गर्दैनौं भन्नुहुन्छ तर पेट दुखेर आएको बिरामी सिटिस्क्यान गर्न चिकित्सकले अन्यत्र पठाउँछन्, एमआरआई गर्न निजीतिरै पठाइरहेका छन्, किन यस्तो भएको होला ?
तपाईंले भने जस्तै चाहिँ होइन । तर, कतिपय हाम्रा मेसिन पुराना छन् । स्थापना कालदेखिका मेसिनका कारण समस्या भएको हो । नयाँ खरिदका लागि आवश्यक प्रक्रिया पूरा गर्न नपाएर नयाँ खरिद गर्न सकिएको छैन । सिटिस्क्यान नयाँ आइसकेको छ । अव चाँडै जडान हुन्छ । एमआरआई मेसिन खरिद प्रक्रिया थाल्दै छौं । यस्तै, अन्य मेसिन पनि हामी तत्काल प्रक्रिया गरेर बिरामीलाई टेस्ट मेसिन अभावमै रिफर गर्ने वातावरण बनाउँदैनौं ।

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशक प्राडा गौरीशंकर शाह

पछिल्लो समय यहाँका चिकित्सक, कर्मचारी, नर्स, प्राविधिक, सुरक्षा गार्डले बाहिरका निजी व्यवसायीहरुसँग मिलेर बिरामी ठगी गरिरहेको कुरा बाहिर आएको छ, खास कुरा के हो ?
यो समस्या सुन्नमा आएको धेरै पहिलेदेखि नै हो । म यो अस्पतालमा निर्देशक भएर आएदेखि भरसक यस्तो अवस्था नहोस् भनेर सजग भई सबैलाई सचेत गराएको छु । तर, कतिपय अवस्थामा यस्ता कुरा बाहिर आइरहेका छन् । त्यसैले अहिले म त्यस्ता सम्बन्धित चिकित्सक, कर्मचारी, नर्स, प्राविधिक, सुरक्षा गार्डहरुबाट गलत नियतै राखेर कुनै कार्य भएको छ/छैन भन्ने बारे सत्यतथ्य बुझ्न गोप्यरूपमा लागेको छु । कहींकतै त्यस्तो प्रमाण पाइएमा प्रतिष्ठानको नियमावलीअनुसार कडाभन्दा कडा कारबाही गर्नेछु ।

शुद्धीकरणको आन्दोलनका अगुवाहरू नै बिरामी ठगीमा लागेका छन् भनिन्छ । बिरामीलाई ठगी गरेर कमाउने चिकित्सकलाई अब प्रतिष्ठानले के गर्छ त ?
प्रतिष्ठानको शुद्धीकरणको आन्दोलनमा कसको समर्थन नरहला र तर शुद्धीकरणका नाममा स्वार्थ लुकेको छ कि भन्ने छ । त्यसमा पनि चिकित्सकले बिरामीलाई ठगी गरे भन्ने एउटा समाचार मिडियामा आएको छ । त्यस सन्दर्भमा मैले आवश्यक जानकारी मागेको छु । साथै प्रतिष्ठानको केही विभागको कार्यशैलीप्रति पनि जनगुनासो आएको छ । त्यसलाई सूक्ष्मरूपमा निगरानी गरिरहेको छु । वास्तवमै दोषी पाइए जो–कोहीलाई पनि नियमावलीअनुसार कडाभन्दा कडा कारबाही गर्नेछु ।

कारबाही गर्छु त भन्नुभयो । तर, आफैं कार्यकक्षमा बस्न पाउनुभएको छैन । पदाधिकारीले चढ्ने गाडीकै चाबी खोसिएको छ । यस्तो अवस्थामा कसरी कारबाही गर्नुहुन्छ ?
बीचमा परिस्थिति अलिक बिग्रिएको थियो । केही साथीहरुले तालबन्दी गर्नुभयो । चाबी खोस्नुभयो । तर, हामी हाम्रो काम गरिरहेका छौं । सम्बन्धित निकायले दोषी करार गरे हामी राजीनामा दिन पनि तयार भएकै हौं । कुनै पनि कुरा लहड र दबाबले हुँदैन भन्ने कुरा प्रमाणित भएको छ ।

५/६ महिनादेखि पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी छ । अबको निकास के हो ?
अहिले पनि म आफ्नो कार्यकक्षमा नगई कार्यकक्षको परिसरमा रहेर बिरामीको सेवामा र प्रतिष्ठानको हितमा रात–दिन नभनी काम गरिरहेकै छु । यो कुरा सबैले देखेकै छन् । कुनै पनि समस्याको निकास भनेको वार्ता, छलफल र सहमतिमा हुन्छ । सबै पदाधिकारीको राजीनामा मागेर प्रतिष्ठान नै ठप्प हुने गरी जसरी आन्दोलनकारीबाट आन्दोलन भइरहेको छ, त्यो पूर्वाग्रही भयो । आक्षेपकै भरमा कोही दोषी र कोही निर्दोष हुँदैन । त्यसका लागि सम्बन्धित निकायहरु छन् ।

त्यसैले आफ्नो हठकै भरमा जबर्जस्ती गर्ने आन्दोलानकारीको कदम ठीक होइन । विधि र पद्धति नमान्ने हो भने समस्या सधैं यस्तै भइरहन्छ । त्यसमा पनि प्रतिष्ठानको गरिमामा आँच आउने गरी गरिएका यस्ता गतिविधिहरु खेदजनक छ । पात्रलाई भन्दा पनि प्रवृत्तिलाई हामीले खबरदारी गर्ने हो । गुण र दोषको उचित मू्यांकन गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । यस समस्या समाधानका लागि न्यायालयको हालैको कदम र आदेश शिरोधार्य गरेर अघि बढ्नुपर्छ । सर्वोच्च अदालतले स्वास्थ्य क्षेत्रमा तालाबन्दी हड्ताल नगर्नू, लगाएको ताला खोल्नू भनेर गत मंगलबार (मंसिर २० गते) आदेश जारी गरिसकेको छ ।

के सरकार पनि बीपी प्रतिष्ठानलाई धराशयी बनाउन लागेको हो त ?
यसरी पनि नबुझौं । सरकारको पनि आफ्नै बाध्यता होला तर हामी सबैले प्रतिष्ठानको हितमा काम गर्नुपर्दछ । यो सरकारप्रति मेरो कुनै आग्रह पूर्वाग्रह छैन । सरकारले प्रतिष्ठान सञ्चालनका लागि सहज वातावरण चाहिँ तयार गर्नुपर्छ । यहाँ भएका समस्या सरकारसँग पनि जोडिएका छन् । स्वास्थ्य मन्त्रालयसँग जोडिएका समस्या समाधान गर्न मन्त्रालयले पहल कदमी गर्नुपर्छ ।

अन्त्यमा, आन्दोलनरत पक्षलाई तपाई के भन्न चाहनुहुन्छ ?
कुनै पनि समस्याको हल वार्ता, सहमति र समझदारीबाटै हुने गर्दछ । त्यसैले यहाँ भएका जति पनि समस्या छन् । ती सम्पूर्ण समस्याको निकास एक–आपसमा बसेरै गरौं । हिजोका तीतामीठा अवस्थालाई भुलेर प्रतिष्ठानको हित र हाम्रो पनि व्यक्तिगत सद्चरित्र निर्माणमा लागौं । सम्बन्धित सबैमा यही अपिल गर्न चाहन्छु ।