जिल्ला अस्पतालमै अक्सिजन उत्पादन शुरू



गुल्मी ।

गुल्मी जिल्लामा अक्सिजन उत्पादन शुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो । जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले ल्याइएका सामग्रीमा लामो समयदेखि सञ्चालनमा नल्याउँदा खिया लाग्न थालेका थिए । तर, अहिले भने दैनिक ४० वटा अक्सिजन सिलिन्डर प्लान्टबाट उत्पादन हुन थालेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको हो । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य अगाडि बढाइएको थियो ।

अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु गुल्मी अस्पतालमा आएका थिए । तर, अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको थियो । जसले गर्दा सामग्री खिया लाग्न थालेक थिए । प्राविधिक आएर प्लान्ट निर्माण कार्य पूरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताउनुभयो ।

उनले अब आवश्यकअनुसार अक्सिजन उत्पादन कार्य अगाडि बढाइने बताए । गुल्मी अस्पतामा महामारी अवस्थामा दैनिक ठूलो अक्सिजनको सिलिन्डर १५ वटाभन्दा बढी खपत भएको डा. पच्याको भनाइ छ । अहिले गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । जिल्ला अस्पतालबाट उत्पादन गरिएको अक्सिजन अन्य सर्वसाधारणलाई पनि भर्ने व्यवस्था बारे आवश्यक छलफलपछि मात्रै निर्णय गरिने डा. पच्याको भनाइ छ ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समयसम्म सञ्चालनमा आउन नसक्दा प्रश्न उठेका थिए । तर, ढिलो भए पनि जिल्लामै अक्सिजन उत्पदान हुनु खुसीको कुरा रहेको प्लान्ट निर्माणमा सहयोगी गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो । अब गुल्मी अस्पतालमा अक्सिजन अभाव नहुने उहााको कथन छ ।

प्लान्ट निर्माणमा अभियान चलाएका नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्लान्ट सञ्चालनमा आएसँगै गाँस काटेर गुल्मेली नागरिकले उठाएको सहयोग रकमले सार्थकता पाएको बताउनुभयो । अक्सिजन प्लान्ट निर्माणका लागि नेपाल सरकारबाट १ करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ–संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।

गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको डा. पच्या बताउनुहुन्छ । गत वैशाखमा कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले उपचारमा निकै समस्या झेल्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्