सडक र सहर फोहोर पारेर धर्म–संस्कृति मान्ने हाम्रो परम्परा छ । आज सत्ताधारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचार सामग्रीको जसरी प्रयोग भइरहेको छ, त्यसले पनि फोहोर नै बढाएको छ । रत्नपार्क, प्रज्ञाप्रतिष्ठान, प्रदर्शनीमार्ग, बागबजार आदि क्षेत्रमा प्रचार सामग्रीको व्यापक प्रयोग भइरहेको छ जसले वातावरण नै बिगारेको छ । मान्छे हिँड्ने पेटीमा पसल थाप्ने, सडक बारेर भोज खाने, मन्दिर नै फोहोर बनाउने गरी पूजा सामग्री छर्ने हाम्रो ‘सभ्यता’ छ । राजनीतिक देखि सांस्कृतिक गतिविधि सम्म सहर र सडक फोहोर पार्ने खालका छन् ।
महाधिवेशनमा प्रयोग भएका प्रचार सामग्री उठाउने जिम्मेवारी त्यसको आयोजक समितिले निर्वाह गर्ला ? प्रश्न अनुत्तरित छ । कति ठाउँमा अँध्यारा गल्लीले पनि सहर र सडक फोहोर बनाउन अभिप्रेरणाको काम गरेको देखिन्छ । देशको संघीय राजधानी काठमाडौं उपत्यका भित्र रातको समयमा अधिकांश सडक बत्ती बल्दैनन् । सोलार प्रविधि टिकाउ हुन सकेको देखिन्न । देशभित्र विद्युत् पर्याप्त हुने अवस्था सिर्जना हुँदासमेत उपत्यका काठमाडौंका मुख्य सडकको दायाँबायाँ रातीको समय सडक बत्ती बल्न सकेको देखिन्न ।विशेष गरी काठमाडौं उपत्यकाको नमुना सडकको रूपमा रहेको कोटेश्वर–कलंकी सडक खण्डमा रातीको समयमा सडक बत्ती नहुँदा दुर्घटनाको जोखिम पनि धेरै रहेको छ । सडक सुरक्षाको लागि अपनाउनु पर्ने मापदण्डसमेत यस सडकमा लागु गरिएको छैन । सडकको बीचमा राख्नुपर्ने डिभाडर राखिएको छैन । सडक बत्तीनहुँदा रातको समयमा ज्यान नै जोखिममा राखेर सडक वारपार गर्नुपर्ने अवस्था देखिन्छ ।
तीव्र गतिमा सवारी साधन गुड्ने यस सडकलाई सुरक्षित बनाउन वर्षौं भइसक्दा समेत सडक विभाग र सरोकारवाला निकायले बेवास्ता गरेको देखिन्छ । स्थानीयतहले पनि आ–आफ्नो नगरपालिकाका क्षेत्र पर्ने ठाउँमा बिजुली बत्ती जडान गर्न सक्छन् । तर, स्थानीय सरकार सञ्चालन भएको पाँचवर्षको अवधिमा पनि यस सडकमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सडक बत्ती राख्ने विषयमा चासो दिएको पाइदैन । उपत्यका भित्रका मुख्य सडकहरूमा सडक बत्तीनिकै जरुरी छ । रातको समयमा पैदल यात्रीलाई आवतजावत गर्नको साथै सवारी साधन सञ्चालन गर्न समेत उज्यालो आवश्यक छ । सडक बत्ती राख्ने र बिग्रिएपछि मर्मत नगर्ने परिपाटीका कारण पनि जडान भएका सडक बत्ती धेरै टिक्दैनन् । उपत्यकाको तीनकुने–सूर्यविनायक सडकको दायाँबायाँ र बीचमा सडक बत्ती जडान गरिएको छ । तर, अधिकांश सडक बत्ती बिग्रिएको लामो समय भइसक्दा समेत सरोकारवाला निकायको ध्यानजान सकिरहेको छैन ।
परम्परा र सभ्यतामा अन्योन्याश्रित सम्बन्ध छ भन्नेमा विवाद छैन । तर, गलत परम्परालाई नै सभ्यता मानेर त्यसको विवेकहीन अनुकरण गर्नु बुद्धिमानी हुन सक्तैन । पार्कमा गएर वनभोज खान त पाइन्छ तर आफूले गरेको फोहोर उठाउने सभ्यता पनि अंगीकार गर्नुपर्छ । सडकमा बत्ती जडान गर्नेले त्यसको मर्मत गर्ने जिम्मेवारी पनिनिर्वाह गर्नुपर्छ । यी दुवै विषयमा प्रवृत्ति निर्णायक देखिन्छ । जिम्मेवारी निर्वाह गर्ने प्रवृत्ति कायम हुने हो भने सहर र सडक फोहोर नहुने र उज्यालो रहने निश्चित छ ।
प्रतिक्रिया