प्रचार शैली आक्रामक, सुन्धारादेखि ठमेलसम्म ब्यानर



काठमाडौं, (नेस) ।

कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व छनोटका लागि आज मतदान हुँदै छ । नेतृत्वका लागि उम्मेदवारी दर्ता गराइएसँगै आ–आफ्नो समूहका नेताहरूलाई जिताउन आक्रमक प्रचारशैली अपनाइएको छ ।

भृकुटीमण्डप आसपासको क्षेत्र मात्र होइन, सुन्धारा, गौशाला र ठमेल क्षेत्रमा समेत उम्मेदवारको प्रचारप्रसारमा ब्यानर टांगिएका छन् । भृकुटीमण्डमा बाटोभरि छरिएको पर्चा र पम्पेलटका कारण सडक नै नदेखिने भएको छ । मतदानस्थलमा शनिबारदेखि नै समर्थकहरूले समूह–समूह बनाएर भोट माग्दै आएका छन् । आफू पक्षका नेताहरूको समर्थनमा नारा लगाउने, हुटिङ लगाउने समर्थकहरूको भीड पनि बाक्लो छ ।

मतदानस्थलमा आइतबार बिहानैबाट सभापति र पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरू भोट माग्न व्यस्त देखिन्थे । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदातासँग भोट माग्दै बिहानको खाना समेत महाधिवेशन प्रतिनिधिहरूसँग लाइनमै बसेर खानुभयो । सभापति मात्रै होइन, अन्य उम्मेदवारहरूले पनि भृकुटीमण्डपमा रहेका महाधिवेशन प्रतिनिधिहरूसँग बिहानैदेखि भेटेर मत मागेका थिए । महाधिवेशन पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूले शुक्रबार धेरैपटक भृकुटीमण्डमा रहेका मतदातासँग भोट मागेका थिए ।

विशेष गरी मतदानस्थलमा महामन्त्रीका उम्मेदवारहरू मिलेन्द्र रिजाल, प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्माको अघिपछि ठूलो भीड देखिन्थ्यो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट महामन्त्रीका लागि उम्मेदवार बनेका प्रदीप पौडेल र शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका गगन थापा प्रतिनिधिहरूसँग मत माग्न व्यस्त थिए ।

भृकुटीमण्डप पुगेर पौडेल र थापाले मत माग्ने क्रममा जम्काभेट समेत भएको थियो । महामन्त्रीका उम्मेदवार दुवै जनाले सौहार्दपूर्ण रूपमा हात मिलाउँदा कार्यकर्ताहरू उत्साहित देखिन्थे । भृकुटीमण्डमा थापा र पौडेलसँग फोटो खिचाउन मतदाता र कार्यकर्ता हानाथाप गरिरहेको दृश्य पनि रोचक नै देखिन्थ्यो । देशभरबाट आएका प्रतिनिधिहरू पनि आफ्ना नेताहरूसँग सेल्फी खिच्न व्यस्त देखिए । मतदानस्थल पन्चेबाजा, धिमे, डम्बु, साकेला नाचले संगीतमय देखिएको थियो । महाधिवेशनमा सहभागी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिबाट आगामी नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्