कांग्रेस महाधिवेशन : नेताहरुको भाग्य परीक्षा आज

देउवालाई पहिलो चरणमा रोक्ने र दोस्रो चरणमा एकता गर्ने इतर समूहको प्रयास



रामकृष्ण चापागाईं, काठमाडौं ।

१४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया आज बिहानबाट शुरू हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समितिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ । ४ हजार ७ सय ४३ जना मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने भएकाले निर्वाचन समितिको समयसीमाभित्र मतदान कार्यक्रम नसकिने देखिएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएअनुसार १३ पदाधिकारीसहित १ सय ३४ सदस्यका लागि हुने निर्वाचनमा ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । जसमा एक सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ भने दुई उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै, दुई महामन्त्रीका लागि ६ जना र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले १९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदान प्रक्रिया लम्बिने भए पनि निर्वाचन समितले साँझ पाँच बजे सकिने अनुमान गरेको छ । भृकुटीमण्डप परिसरभित्र दुई र राष्ट्रिय सभागृहमा एक गरी तीन ठाउँमा मतदान गर्न १ हजार बुथ राखिने निर्वाचन समितिले जनाएको छ । एकपटक सबै बुथमा मतदाता रहने गरी मतदान गर्ने व्यवस्था निर्वाचन समितिलाई हम्मे–हम्मे परिरहेको छ । एक जना मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने र एक मतदातालाई मतदान गर्न करिब ४५ मिनेट लाग्नेछ ।

कांग्रेसको यो अधिवेशनमा प्रभावशाली नेताहरु फरक–फरक प्यानलबाट उम्मेदवारी दिएकाले रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । साथै युवा नेताहरुको उम्मेदवारी उल्लेख्य परेको छ भने युवा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति पनि यो अधिवेशनमा उल्लेख्य छ ।

पार्टीभित्र नेतृत्व हत्याउने चुनावी प्रतिस्पर्धामा संस्थापन पक्षबाट साझा उम्मेदवारका रूपमा वर्तमान सभापति शेरबहादुर देउवा चुनावी मैदानम उत्रिनुभएको छ भने इतर समूहबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् । निर्वाचन समितिले सार्वजनिक गरेको ४ हजार ७ सय ४३ मतदाता सबैले मतदान गरे भने सभापतिमा विजयी हुन २ हजार ३ सय ७२ मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस विधानमा सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

नेतृत्वका दाबेदार नेताहरु पदाधिकारीसहित केन्द्रीय सदस्यसम्मको नाम राखेर प्यानल निर्माणमा जुटेका छन् । पदाधिकारीको पूरै प्यानल निर्माण गरी सभापतिमा उम्मेदवारी दिएका देउवा र डा. कोइरालाबाहेक अन्य उम्मेदवारले पूरै प्यानल निर्माण गर्न सकेका छैनन् । देउवाले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई अघि सार्नुभएको छ भने कोइरालाले धनराज गुरुङ र चन्द्रबहादुर भण्डारीलाई अघि सार्नुभएको छ । महामन्त्रीमा देउवा प्यानलमा प्रदीप पौडेल र डा. प्रकाशशरण महत छन् भने कोइराला प्यानलमा गगन थापा र डा. मीनेन्द्र रिजाल छन् ।

कांग्रेसभित्र तेस्रो गुटका रूपमा रहेको कृष्णप्रसाद सिटौला समूहका साथमा देउवाले पहिलो चरणमै ५० प्रतिशत मत कटाउने रणनीतिमा लागे पनि इतर पक्षले पहिलो चरण रोक्ने कोशिस गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरुको जोडघटाउमा अहिलेसम्म देउवाको २ हजार बढी मत रहेको अनुमान छ भने कोइरालाको १ हजार ५ सय भन्दा बढी मत रहेको अनुमान छ । सिंहको ५ सयभन्दा बढी र निधिको ४ सयभन्दा बढी मत आउने अनुमान छ । ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि जता पनि जान सक्ने अनुमान छ । यही अनुमानलाई आधार बनाएर सभापतिका आकांक्षी नेताहरुले रणनीति बनाइरहेका छन् ।

सभापतिका उम्मेदवार निधिले जानाएअनुसार पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत कट्दैन । दोस्रो चरणमा जाँदा जसको बढी मत आउँछ इतर समूह त्यतै लाग्ने उहाँको भनाइ छ । पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसके देउवालाई सकस हुने भन्दै देउवा सचिवालयले प्यानल निर्माण गरी लिस्ट वितरण गर्दा मतदाता बढ्ने गरी केन्द्रीय सदस्यहरुको नाम राख्नुपर्ने सुझाव दिइरहेका छन् ।

कांग्रेसका अर्का चर्चित नेता विश्वप्रकाश शर्मा सिंहको प्यानलमा छन् । सिंहले उपसभापतिमा सुजाता कोइरालालाई अघि सारेका छन् । निधिले उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीलाई अघि सार्नुभएको छ । उपसभापतिमा कांग्रेसका बौद्धिक नेताका रूपमा परिचित महेश आचार्यले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्