महाधिवेशन प्रतिनिधिको आठ करोडभन्दा बढी खर्च !

0
Shares

काठमाडौं, (नेस) ।

जारी कांग्रेस महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिको आठ करोड रुपियाँभन्दा बढी खर्च भएको छ । क्रियाशील सदस्यता नवीकरणदेखि महाधिवेशन प्रतिनिधि दर्ता शुल्कसम्म गरेर एक प्रतिनिधि बराबर २० हजार रुपियाँसम्म खर्च भएको छ ।

धनुषा जिल्लाबाट महाधिवेशन प्रतिनिधिका रूपमा भाग लिन काठमाडौं आएका अरविन्द महतोका अनुसार क्रियाशील सदस्यता नवीकरण दुई सय रुपियाँ, वडामा क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता एकहजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता पाँच हजार, महासमिति सदस्यको उम्मेदवारी दर्ता सातहजार, प्रदेश प्रतिनिधिको नाम दर्ता दुई हजार रुपियाँ र केन्द्रीय महाधिवेशन प्रतिनिधिको नामावली दर्ता गर्दा तीन हजार रुपियाँ खर्च भएको छ ।

आफ्नो क्षेत्रबाट राजधानीसम्म आएको यातायात खर्च, खाजा खर्च जोड्दा कतिपय प्रतिनिधिको २५ हजार रुपियाँसम्म खर्च भएको छ । सरदर एक प्रतिनिधिको महाधिवेशन स्थलसम्म आइपुग्दा भएको खर्च औसतमा १८ हजारको दरले जोड्दा ४५ सय प्रतिनिधिको ८ करोड १० लाख रुपियाँ खर्च भएको देखिन्छ ।

केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनको लागि हिजो शनिबार भएको उम्मेदवारी दर्ताबाट ५९ लाख उठेको छ । निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपियाँ उठाएको छ । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ । त्यसै गरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ । २० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्रै ५० लाख ९० हजार रुपियाँ उठाएको छ । केन्द्रीय सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।