माओवादीको कार्यक्रममा कांग्रेसका कार्यकर्ता प्रवेश गरेपछि…

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो ।

धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए । श्रेष्ठका समर्थकले बग्गीखाना भरिभराउ थियो । पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजता कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजन केसीसहितका नेताहरू एकसाथ देखिएपछि माहोल झन् फरक बनेको थियो ।

प्रकाशमानको पक्षमा नारा लागिरहँदा बग्गीखाना परिसरमा कांग्रेसको झण्डासँगै नेकपा माओवादी केन्द्रको झण्डा पनि बीच–बीचमा देखिएको थियो । बग्गीखाना परिसरभित्रै रहेको यलाम्बर पार्टी प्यालेसमा माओवादी केन्द्रको प्रदेश कमिटिको सम्मेलन आयोजना गरिएकाले त्यहाँ माओवादीको पनि झण्डा देखिएको थियो । कांग्रेसका कार्यकर्ताहरू झण्डा बोकेर पार्टी प्यालेसभित्र प्रवेश गरेपछि माओवादीका नेता कार्यकर्ताहरू मुखामुख गरिरहेका र माओवादीको झण्डा देखेर कांग्रेसका कार्यकर्ता बाहिर निस्कँदै गरेको दृश्य रोचक देखिन्थ्यो । कार्यक्रममा सहभागी हुन आएका माओवादीका प्रदेश कमिटिका नेताहरू बाहिर कांग्रेसको झण्डा र ब्यानर देखेर अलमलमा परेका थिए ।

बाहिर सभापतिका उम्मेदवार प्रकाशमान सिंहले भाषण गरिरहँदा सोही परिसरभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यबाट सम्बोधन गरिरहनुभएको थियो । कार्यक्रमस्थलमा सहभागी कांग्रेस र माओवादीका कार्यकर्ताहरू भने माओवादी र सिंहको भाषण चाखपूर्ण रूपमा सुनिरहेका थिए । माओवादीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सो पार्टी प्यालेसमा प्रदेश कमिटिको सम्मेलन आयोजना गरेको थियो भने सिंहले केहीअघि मात्र साल्ट ट्रडिङको भवनलाई सम्पर्क कार्यालय बनाउनुभएको थियो ।

क्रान्तिको नयाँ मोडेल खोजी गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू क्रान्तिको नयाँ मोडेलको खोजीमा रहेको बताउनुभएको छ । उहाँले पार्टीलाई संगठन र विचारमार्फत सुदृढ बनाएर लैजानुपर्ने बताउँदै क्रान्तिको नयाँ मोडलको खोजीमा रहेको बताउनुभएको हो । शनिबार प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा कमी–कमजोरी रहेकाले त्यसलाई सच्याएर क्रान्तिकारी पार्टी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘माओवादी चुनौती र अवसरको दोसाँधमा छ, अब पार्टीलाई रूपान्तरण गरेर अगाडि बढनुपर्छ ।’

अब क्रान्तिको नयाँ मोडलको खोजी गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले माओवादीले नै त्यस्तो मोडल खोज्न सक्ने पार्टी भएको बताउनुभयो । एमालेको भर्खर सम्पन्न महाधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिँदै प्रचण्डले भन्नुभयो– ‘एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजा गरिएको छ, कांग्रेसको महाधिवेशन पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस भएको देखिँदैन ।’ प्रचण्डले पार्टीभित्र देखिएको तमाम समस्या समाधान गर्ने गरी आगामी पुसमा हुने सम्मेलनमा नयाँ दस्तावेज ल्याउने बताउनुभयो ।

यसैबीच माओवादी केन्द्र वागमती प्रदेशमा झन्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य पुगेका छन् । वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १ लाख ४७ हजार २ सय ९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झन्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अुनसार झन्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य वागमती प्रदेशमा पुग्नेछ । वागमती प्रदेशमा १ सय १८ वटा पालिका अधिवेशन सम्पन्न भएको भन्दै पार्टी केन्द्रको निर्देशनअनुसार पार्टी संगठन विस्तारमा कुनै कसर बाँकी नरहेको बताउनुभयो ।