अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचित



हेटौंडा ।

वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गर्नुभएको छ । बिहीबार हेटौंडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहनुभएका अधिकारीको पुस्तक विमोचन गर्नुभएको हो ।

प्रदेश प्रमुखले अधिकारीको लेखनयात्राको निरन्तरताको कामना गर्दै पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको पछि लागिरहन आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुले हीनभावना त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु सुसूचित गर्न आह्वान गर्नुभयो ।

उहाँले पत्रकारिता, राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ कर्मचारीले गरेका अनियमितताका सत्यतथ्य समाचार सार्वजनिक गर्न आफूमा दृढता हुनुपर्ने बताउनुभयो । शर्माले प्रजातन्त्रमा प्रेसस्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको र हाल युवापुस्तालाई पत्रकारिता क्षेत्रको विकासका लागि अग्रसर रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, वागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

वागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र, राष्ट्रियता सम्वद्र्धनका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनतालाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्बृद्धिका लागि प्रदेश सरकारले निष्पक्षसाथ कार्यक्रम गर्ने बताउनुभयो ।

पुस्तक लेखक हेटौंडा–५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवापुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतका रूपमा रहेको पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवापुस्ताले आफ्नो जीवनशैलीको कठिनाइलाई भोगेर भए पनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

पुस्तक समीक्षक रामचन्द्र आचार्य ‘फुर्सती’, नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एन्ड रिसर्च सेन्टर अध्यक्ष नवराज न्यौपानेले पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवाजगत्लाई पत्रकारिता क्षेत्रका माध्यमबाट मुलुकमा देखिएको भ्रष्टाचार, विसंगति र हिंसा न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुर अध्यक्ष बद्रीप्रसाद लम्साल, नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइराला, प्रदेश युवा परिषद् प्रदेश कार्यकारी उपाध्यक्ष सन्तोष चौलागार्इं, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागार्इंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्