नयाँ र पुराना पुस्ताको समीकरण गर्न मेरो उम्मेदवारी : खतिवडा


भूपराज बस्याल, काठमाडौं ।

अबको कांग्रेस नयाँ र पुराना दुवैको समीकरण चल्ने भन्दै ‘नयाँ पुस्ताले क्याबात कांग्रेस र पुराना पुस्ताले स्याबास कांग्रेस’ भन्ने पार्टी बनाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको रामहरि खतिवडाले बताउनुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशन नीतिभन्दा पनि नेतृत्वमा केन्द्रित हुने उहाँको भनाइ छ । प्रत्येक महाधिवेशनमा गाउँबाट चुनाव जित्दै आउने गरेको भए पनि अहिलेसम्म पार्टीमा काम गर्ने कुनै अवसर प्राप्त नभएकाले अब पार्टीको केही जिम्मेवारी सम्हालेर संगठनलाई नयाँ पुस्तासँग जोड्नका लागि केन्द्रीय कार्यसमितिमा आउन लागेको कांग्रेस नेता खतिवडाको कथन छ ।

१९ वर्षको उमेरमा २०४५ सालदेखि ओखलढुंगाको जिल्ला कार्यसमितिमा रहेर खतिवडाले काम गरेका थिए । २०४८ सालदेखि महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको केन्द्रीय राजनीतिसँग नजिक रहेर धेरै काम गरेको अनुभवलाई कार्यान्वयन गर्न उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ ।

‘मेरो तयारी त सहमहामन्त्रीमा थियो, सबै साथीहरूलाई मिलाउँदामिलाउँदै सदस्यमा परियो’, अहिलेसम्म नेतृत्व मिलाउन त्याग गर्दै आएको अनुभव सुनाउदै उहाँले भन्नुभयो– ‘यसरी पार्टीमा निरन्तर लागेर प्रत्येकपटक महासमिति सदस्य बन्ने सायद म नै पहिलो नेता हुँला, किनकि केन्द्रीय समितिलाई तलदेखि प्रतिनिधि हुँदै आउन परेन । म पार्टीको केन्द्रीय समितिको विभिन्न विभागमा रहेर काम गरे पनि चुनावमा तल्लो तहबाटै चुनाव जित्दै आएको छु ।’

भट्टराईले पटक–पटक आफू हारेर पार्टी जिताउनुभयो । म त्यही स्कुलिङबाट आएको हुँ । अहिले आएर पार्टीले हार्ने अवस्था सिर्जना भएकाले पार्टीलाई हार्न नदिन केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।

तल्लो स्तरबाट निरन्तर यसरी चुनाव जितेर आउने व्यक्ति पार्टीमा ५/७ जनाभन्दा बढी नभएको हुँदा त्यही मध्येबाट आफूले उम्मेदवारी घोषणा गरेको खतिवडाको कथन छ । आज पार्टीमा १९ वर्षदेखि ८६ वर्षसम्म उमेर समूहका व्यक्ति महाधिवेशन प्रतिनिधि बनेर आएका छन् ।

कांग्रेसबाट विमुख भएका युवा कार्यकर्तालाई कांग्रेसतिर आकर्षित गर्ने, देशमा लगानीको वातावरण सिर्जना गर्ने, राष्ट्रियताको भावना अझ दह्रोरूपमा जागृत गराउने, गुम्दै गएको न्यायपालिकालाई सुदृढ बनाउनका लागि पहल गर्ने, संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयनको बाटोमा लाने आफ्नो योजना रहेको भन्दै खतिवडा भन्नुहुन्छ– ‘संविधान मान्दैनौं भन्ने शक्तिहरु पनि संविधान कार्यान्वयनको बाटोमा आएका बेला स्थानीय प्रदेश र केन्द्रको चुनाव हुने सम्भावना बढ्दै गएको छ । त्यसैले यो बेला पार्टीलाई सबैको प्रिय र पहिलो बनाउने जिम्मेवारी हाम्रो हो ।’ अब गुटका मात्रै कुरा गरेर नहुने भन्दै सबैलाई गुटभन्दा माथि उठेर सही नेतृत्व चयन गर्न उहाँको आम नेता–कार्यकर्तामा आग्रह छ ।

अबको आम चुनावमा पहिलो पार्टी बनाउनका लागि पार्टीमा धेरै काम गर्नुपर्ने भएकाले अब केही सम्भावना बोकेका व्यक्तिहरु पार्टीको नेतृत्वमा आउनुपर्ने सल्लाह गरी आफूले उम्मेदवारी दिएको उहाँले जनाउनुभयो । ‘मभन्दा पछि राजनीतिमा आएकाहरु सहमहामन्त्री, महामन्त्रीमा दाबी गर्दै गर्दा ती सबैलाई मिलाउनुपर्ने अवस्था छ’, खतिवडा भन्नुहुन्छ– ‘पार्टीले गति लिनका लागि सही विचारसहितको दृष्टिकोण, भोलि मुलुक हाँक्न सक्ने नेतृत्वको आवश्यकता छ ।’

कृष्णप्रसाद भट्टराईबाट प्रभावित भएर राजनीतिमा होमिएको बताउने खतिवडाले लोभीपापी नेताले पार्टी बिगारेको आरोप लगाउनुभयो । ‘भट्टराईले पटक–पटक आफू हारेर पार्टी जिताउनुभयो । म त्यही स्कुलिङबाट आएको हुँदा त्यस बेलादेखि नै आफू हार्दै पार्टीलाई जिताउँदै आएको र अहिले आएर पार्टीले हार्ने अवस्था सिर्जना भएपछि पार्टीलाई हार्न नदिन केन्दीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।’ –उहाँको भनाइ छ ।