नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप

भोलिदेखि कांग्रेसको कुम्भमेला


रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

नेतृत्वका लागि पर्सि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् । शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहे पनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै विषयमा केन्द्रित रह्यो । गुट–उपगुटमा विभाजित कांग्रेस नेताहरु महाधिवेशनमा कसरी जित्ने भन्ने ध्याउन्नमै दौडधूप गरिरहेका छन् ।

कांग्रेसभित्र खास गरी वर्तमान सभापति शेरबहादुर देउवा पक्ष (जसलाई संस्थापन पक्ष पनि भनिन्छ), वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष छन् । पछिल्लो समय संस्थापन पक्षबाट छुट्टिएर उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबी गर्दै छुट्टै गुट निर्माण गरिरहनुभएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ । पार्टीभित्रको गुट उपगुट केन्द्रदेखि गाउँ तहसम्म फैलिएको छ ।

कांग्रेस विधानमा सभापतिसहित चौध पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीका रूपमा उपसभापति र महामन्त्री दुई/दुई, कोषाध्यक्ष एक र सहमहामन्त्री आठ जना छन् । जसमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ । सभापतिले मनोनित गर्ने ३३ जनाबाहेक १ सय २१ जना केन्द्रीय सदस्य पनि अधिवेशनबाट निर्वाचित हुनुपर्छ ।

संस्थापन पक्षबाट सभापतिमा देउवा पुनः उम्मेदवार हुने निश्चित भए पनि पदाधिकारी छान्न सकस भइरहेको छ भने पौडेल समूहले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन । दिनभरको छलफलबाट पौडेल समूहबाट चारमध्ये दुई आकांक्षी बाँकी छन् । आफ्नो समूहबाट एकमात्र साझा उम्मेदवार दिन नसके नेतृत्व पुनः देउवालाई बुझाए हुने भनी स्वीकार गरेका पौडेल समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला एकले अर्कोलाई स्वीकार्ने सहमति जुट्न सकेको छैन ।

पदाधिकारी छनोटका लागि सभापति देउवाले बुधबार आकांक्षी नेताहरुसँग छलफल गर्नुभएको छ । देउवा पक्षभित्र पदाधिकारीका आकांक्षी नेता धेरै छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका विजयकुमार गच्छदार, राप्रपाबाट कांग्रेसमा समाहित भएका सुनीलबहादुर थापा मात्र होइन गुट मिलाउन सिटौलालाई पनि सम्मानजनक पद दिनुपर्ने बाध्यतामा रहेका देउवालाई पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मालगायत प्रभावशाली नेताहरुको व्यवस्थापनमा सकस छ ।

– देउवा पक्षलाई पदाधिकारी र पौडेल पक्षलाई सभापति छान्न सकस
– प्रकाशमान सिंह र डा. शेखर कोइरालाको अडान कायमै
– १ सय ६५ मध्ये १ सय ६४ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउने
– ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ प्रतिनिधिको नाम सार्वजनिक
– निर्वाचन आचारसंहिता जारी, महाधिवेशन स्थलको ५ सय मिटर वरपर प्रचार गर्न नपाइने

सहमहामन्त्रीको पद आठवटा भए पनि त्यो विभिन्न क्लस्टरबाट एक एक जना आउने भएकाले यसमा पनि व्यवस्थापनमा देउवालाई सकस रहेको छ । पदाधिकारीमा आकांक्षी नेता धेरै छन् भन्दै देउवा निकट नेत्रृ पुष्पा भुसालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बुधबार आकांक्षी नेताहरुले आ–आफ्नो कुरा राख्नुभयो । सातै प्रदेशबाट छुट्टाछुट्टै छलफल गरेर बिहीबार फेरि सभापतिसँग बस्ने कुरा छ ।’ आकांक्षी धेरै भएपछि पदाधिकारीमा महामन्त्री र सहमहामन्त्री पद थप गर्ने बारेमा पनि छलफल भएको भुसाल बताउनुहुन्छ ।

यता सभापतिका लागि आफ्नो पक्षको साझा उम्मेदवार छान्न नसकेको पौडेल पक्षमा आकांक्षी चारबाट दुईमा घटेको छ । सभापतिका आकांक्षी पौडेल र डा. शशांक कोइरालाले सहमतिका लागि आफू ब्याक हुन तयार भएपछि अब प्रकाशमान सिंह र डा. शेखर कोइराला बाँकी छन् । अघिल्लो महाधिवेशनलगत्तै भावी सभापतिका लागि तयारीस्वरूप पाँच वर्ष देश दौडाहमा गएर कार्यकर्ता माझ रहेका कोइराला र अघिल्लोपटक भावी सभापति आफू भन्दै पौडेललाई सघाएका सिंह आफ्नो अडानबाट टसमस भएका छैनन् । पौडेल पक्षको साझा उम्मेदवार बारे डा. शशांक कोइराला भन्नुहुन्छ– ‘हामी एक हुन सकेनौं भने हामीले हार्ने निश्चित छ ।’ त्यसैले सहमतिका साथ एकमात्र साझा उम्मेदवार हुनेमा आफू विश्वस्त रहेको उहाँ बताउनुहुन्छ ।

यता, सिटौला पक्ष पनि के गर्ने भन्ने निर्णयमा अझै पुगिसकेको छैन । पौडेल र देउवा मात्र होइन निधिले समेत सिटौला पक्षसँग सहयोग मागिरहेका छन् । सिटौला निकट नेता भीमसेनदास प्रधानले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार बुधबार बिहान सहयोग चाहियो भन्दै पौडेल सिटौलालाई भेट्न गएका थिए । पौडेललाई सिटौलाले सहयोग कसरी गर्ने प्याकेज के हो भन्ने जवाफ दिएको प्रधान बताउनुहुन्छ । १३औं महाधिवेशनभन्दा अझ बलियो रहेको बताउँदै आएका सिटौला पक्षले भोलि शुक्रबार साँझसम्म के गर्ने भन्ने निष्कर्ष निकाल्ने प्रधानले बताउनुभयो । महाधिवेशन प्रतिनिधिको जोड–घटाउमा सिटौला आफैं सभापतिमा उठ्दा ७ सय देखि ८ सयसम्म मत आउने देखिएको सिटौला निकट नेताहरुले बताएका छन् ।

भोलिदेखि शुरू हुने १४औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधिहरु राजधानी आउने क्रम बढेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार यो अधिवेशनमा ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुन्छन् । समितिले बुधबार ४ हजार ३ सय १९ जना प्रतिनिधिको नाम सार्वजनिक गरेको छ । जसमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीको चारवटा क्षेत्रको नाम समावेश छैन । सर्लाहीको चार क्षेत्रमा अधिवेशन भएको र आजसम्म नामावली प्राप्त हुने निर्वाचन समितिले जनाएको छ । महोत्तरी क्षेत्र नम्बर ३ मा भने अधिवेशन हुने सम्भावन न्यून छ । निर्वाचन समितिका अनुसार, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि र सभापतिले मनोनित गर्ने प्रतिनिधिहरुको नामावली पनि सार्वजनिक गर्न बाँकी छ ।

कांग्रेस निर्वाचन समितिले बुधबार निर्वाचन आचारसंहिता पनि जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ६ बुँदे आचारसंहितामा केन्द्रीय कार्यालय सानेपा, राष्ट्रिय सभागृह, भृकुटीमण्डप वरिपरि ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसम्बन्धी कुनै पनि प्रचार सामग्री भित्ते लेखन, तुल, ब्यानर, पोस्टर र माइकिङ गर्न पाइने छैन ।