लोकतन्त्रमा लैंगिक समानता र समावेशीकरण



न्युज अफ नेपाल, काठमाडौं ।

लोकतन्त्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण निकै महत्वपूर्ण मानिन्छ । लैंगिक समानता र समाजिक समावेशीकरणसम्बन्धी नीति निर्माणमा नेपालले अग्र स्थान ओगटेको छ । तर यसको कार्यान्वयन पक्ष भने निकै कम्जोर रहेको सरोकारवालाहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंसीर २३ र २४ गते भर्चुअल रुपमा आयोजना गर्न लागेको लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंस्थित अमेरिकी दूताबासले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिका सदस्य एवं महिला अधिकारकर्मी बन्दना राणाले महिलाविरुद्धको भेदभाव हटाउने सम्बन्धमा नीति निर्माणमा नेपालले अभूतपूर्व उपलब्धी हासिल गरेको भएता पनि कार्यान्वयनको पक्ष भने निराशाजनक भएको बताउनुभयो ।

उहाँले नीति कार्यान्वयन गर्ने ठाउँमा रहेकाहरूको पुरानै मानसिकताका कारण नेपालले हासिल गरेको उपलब्धी व्यवहारमा लागु हुन नसकेर ऐन कानुनले दिएको अधिकार उपभोग गर्न नेपाली महिलाहरू अझै पनि बञ्चित रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले महिलाको विषयमा निर्णय लिने स्थानमा महिला नै नआएसम्म परिस्थितिमा परिवर्तन नआउने जिकिर गर्दै निर्णय तहमा महिलालाई पु-याउन सबै महिला नेतृहरू पार्टीको घेराबाट माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अमेरिकी राजदूत -यान्डी बेरीले विगतको १५ वर्षभित्र नेपाल माओवादीको हिंसात्मक द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन र नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र संघीय व्यवस्थाको रुपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेर विश्वकै निम्ति एउटा नमूना बनेको धारणा राख्नुभयो ।

यति हुँदाहुँदै पनि पुरातनवादी सामाजिक मनोविज्ञान परिवर्तन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले लैंगिक समानता र सामाजिक समावेशीताको लक्ष्य हासिल गर्दै मानवअधिकारको सम्बद्र्धन गर्न सके मात्र लोकतन्त्र बलियो हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा भिडियो सन्देश दिंदै नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपमन्त्री उज्रा जेयाले कुनै पनि देशको लोकतन्त्रको अवस्थालाई त्यो देशको महिलाको अवस्थाले उजागर गर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने भर्चुअल शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादर देउवाले गर्दैहुनुहुन्छ । यो शिखर सम्मेलन लोकतान्त्रिक देशहरूका तीन स्तम्भ र साझा मूल्यहरू भ्रष्टाचारविरुद्धको लडाई, अधिनायकवादको प्रतिबार र मानव अधिकारको प्रवद्धर्नमा केन्द्रित हुने बताइएको छ ।

यो सम्मेलनले लोकतन्त्रको अभ्यास गरिरहेका देशहरूले आपसमा लोकतन्त्रका यी तीन आधारस्तम्भका बारेमा अनुभव आदानप्रदान गर्नुका साथै एकअर्काबाट सिक्ने अवसर प्राप्त गर्नेछ भने साथै विश्वव्यापी रुपमा लोकतन्त्रको पुनर्जागरणका लागि योजना बनाउने अवसर पनि प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्