जिल्ला प्रशासनमा पत्र आउँछ, कर्मचारी आउँदैनन्, तीन दरबन्दीमा एक अधिकृत, ईलाकामा कामु


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएर आउने कर्मचारीहरुको पत्र आउने तर हाजिर नभई सरुवा भई जाने क्रम रोकिएको छैन । कर्मचारीहरु सरुवा भएर जाने तर आउन नचाहने प्रवृत्तिले नागरिकहरुले सास्ति ब्यहोर्न थालेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सह सचिव प्रदिपकुमार कोईरालाले काभ्रेपलाञ्चोक जिल्ला प्रशासनमा भएको जनशक्ति अभाव र कर्मचारीहरुको सरुवा भए पनि हाजिर नहुने कार्य तत्काल बुझेर ब्यवस्थापन गर्ने बताउनु भयो । ‘राजधानीसँग जोडिएको सुगम जिल्लामा कर्मचारीहरु सरुवा हुँदा पनि जान मानिरहेका छैनन भने अन्यत्र के होला ? म तत्कालै बुझेर ब्यवस्थापन गर्नेछु’– सह सचिव प्रवक्ता कोईरालाले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमा तीन अधिकृत छन् ।

तीन मध्ये एक अधिकृत मात्रै कार्यरत छन् । २०७८ कार्तिक १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा सरुवा भई हाजिर हुन आउने सूचीमा अधिकृत गौतम रिमाल र हुदराज निरौलाको पत्र आयो । पत्र आएको डेड महिनासम्म उहाँहरु दुबै जना हाजिर हुन आउनु भएन । उल्टै उहाँहरु दुबैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा हाजिर नै नगरी अन्यत्र सरुवा मिलाएर जानु भयो ।

यस अघि भदौ १६ गते गणेशप्रसाद पोखरेलको सरुवा पत्र प्राप्त भए पनि हाजिर नै नगरी अन्यत्र सरुवा भएको छ । अधिकृत तहमा कार्यरत खगेन्द्र सुवेदीको एक वर्ष अघि उप सचिवमा बढुवा भएको थियो भने शेखर आचार्य संचार मन्त्रालयमा सरुवा भएका थिए । तीन जना अधिकृतले गर्ने काम एक्लो अधिकृतले गर्न असम्भव भए पछि प्रशासन कारागार कार्यालय काभ्रेका प्रमुख गायत्री अधिकारीलाई प्रतिलिपि नागरिकताको हस्ताक्षर गर्ने जिम्मेवारी तोकिएको छ ।

उहाँ आफ्नो कार्यालयको कार्य सम्पादन सकेर प्रशासन आउँदा झण्डै २ बजिसकेको हुन्छ । सेवाग्राहिहरुले समयमै सेवा प्राप्त गर्न नसकेको गुनासो दैनिक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सुनाउने गरेका छन् । जनशक्ति अभावका कारण नागरिकहरुलाई छिटो सेवा दिने कुरामा अलमल भएको प्रजिअ पोखरेल बताउनु हुन्छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएका नायब सुब्बाद्धय माधव डाँगी असोज १७ र छत्रमणी ओझाको भदौ १५ गते पत्र आए पनि हाजिरी हुन सकेन । हाजिर नै नभई दुबै जनाको अन्यत्र सरुवा भएको छ । सरुवा भईसकेका नासु बलबहादुर लामाको रमाना भने प्रशासनले रोकेको छ ।

सरुवा भएर जाने कर्मचारीहरु तत्काल जाने तर आउन नचाहने प्रवृत्तिमा नागरिकहरुले सास्ति ब्यहोरिरहेका छन् । प्रशासनबाट दैनिक १ सय २० भन्दा धेरै नयाँ नागरिकता, १ सय २० भन्दा धेरै प्रतिलिपि नागरिकता वितरण भईरहेको छ भने १ सय भन्दा धेरै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने कार्य भईरहेको छ ।

एकै दिन फोटो खिचाउने कार्य असम्भव भएपछि प्रशासनले भोलिपल्टका लागि अघिल्लो दिन नै दिएको टोकन प्रयोग गर्न थालेको छ । टोकन प्रणाली शुरु भए लगत्तै नागरिकहरुलाई सहज भए पनि एउटा कार्यका लागि दुई दिन धाउनु परे पछि असहज र खर्चिलो भएको गुनासो आउन थालेको छ ।

प्रशासनमा दुई स्थानमा मात्रै फोटो सहितको राष्ट्रिय परिचयपत्रका लागि कार्य भईरहेको छ । जनशक्ति नहुँदा अर्काे स्थानमा ब्यवस्थापन गर्न कठिनाई भएको प्रशासन कार्यालयले जानकारी दिएको छ । इलाका प्रशासन कार्यालय देविटारमा अधिकृत नभएकै कारण एक महिना नागरिकता वितरण बन्द भयो । लामो समय कामुका भरमा ईलाका प्रशासन संचालन भईरहेको छ ।

प्रशासन कार्यालयमा दैनिक सयौको संख्यामा राहदानी बनाउन आउनेहरुको भिड केहि कम भए पनि ईराहदानीका लागि सोधखोज गर्न आउनेहरुको संख्या त्यतिक्कै छ । राहदानीका लागि मन्त्रालयको अपरिपक्व निर्णय र ब्यवस्थापनले नागरिकहरुले थप कस्ट र हैरानी ब्यहोर्नु परेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र जनशक्ति ब्यवस्थापनका लागि तत्कालै पहल गर्ने प्रवक्ता कोईरालाले बताउनु भयो ।