सरकारी नीति स्पष्ट गर्न अटो व्यवसायीको माग

0
Shares

 काठमाडौं । 

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक उत्पादनमा आधारित उद्योगहरु सञ्चालन गर्न अटो मोबाइल्स व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनुपर्ने भन्दै यसका लागि विद्युत्मा आधारित सवारी साधन आयात वा स्वदेशमै उत्पादन गरी हाल रहेका पेट्रोल पम्पहरुलाई विद्युतीय चार्जिङ स्टेसनकारूपमा परिणत गर्न सरकार तयारसमेत बताउनुभयो । व्यवसायीले विदेशबाट सवारी साधन र यसँग सम्बन्धित पार्टहरुको आयात गर्दा ठूलो मात्रामा विदेशी मुद्रा बाहिर गएकाले अब यसलाई घटाउँदै लैजानुपर्नेमा अर्थमन्त्रीको जोड छ । अर्थमन्त्री शर्माले नेपालमा टायर, मोबिल उद्योगको पनि सम्भावना रहेको भन्दै आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव हुँदैन यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजानुपर्नेमा उहाँले जोड छ । अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु-याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्थिर नीति आए नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने बताउनुभयो । सरकारले नीति स्पष्ट र स्थिर भए नेपालमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने दुलालको भनाइ छ ।

त्यस्तै नाडाका अध्यक्ष प्रत्यासी करण चौधरीले चौधरीले अटो उद्योग स्थापना गर्ने कुरा सकारात्मक भए पनि तत्काल सरकारले नीतिगत रुपमा स्पष्ट नभएको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्था गर्नुभन्दा पहिला सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो ।