जाजरकोटमा पञ्चवर्षे कृषि रणनीतिका लागि अन्तरक्रिया



जाजरकोट ।

जाजरकोट जिल्ला विकास समितिको सभाहलमा प्रादेशिक कृषि विकास रणनीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । ‘अर्गानिक खेतीमा वृद्धि, कर्णालीको समृद्धि’ भन्ने नाराका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारले युरोपियन युनियनको सहयोगमा पञ्चवर्षे रणनीति निर्माणका लागि कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायत र कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय महाशाखा प्रमुख एडीएस विज्ञको टोलीले सरोरवालाहरुसँग कृषि विकासका लागि छलफल गरेको थियो । सरोकारवालाहरुको सुझाव संकलनका लागि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

कठायतले खाद्य असुरक्षित भएको कर्णाली प्रदेशमा आधुनिक तथा व्यावसायिक खेती गरी बेरोजगार युवा जनशक्तिलाई कृषि पेसामा आकर्षित गर्न सके खाद्य सुरक्षित हुने बताउनुभएको थियो । राज्य व्यवस्था परिवर्तन भएसँगै अवस्था परिवर्तित भएकाले कर्णाली प्रदेशको भौगोलिकतालाई आत्मसात् गर्दै कर्णालीको आफ्नै कृषि विकास रणनीति बनाउनुपर्ने अतयावश्यक भएको उहाँको कथन थियो ।

त्यस्तै, मन्त्रालयका महाशाखा प्रमुख शेषमनि भट्टराईले उत्पादन र उत्पादकत्व वृद्धि तुलनात्मक कृषि उपज प्रवद्र्धन गरी प्रतिस्पर्धी बनाउने, रैथानेबाली जैविक विविधताको संरक्षण सम्वद्र्धनको नीति अवलम्बन गर्ने उद्देश्यले स्रोत केन्द्र स्थापना समूह सहकारीलाई ७० प्रतिशत फर्म कम्पनीलाई ५० प्रतिशत, लक्षित वर्गलाई शतप्रतिशत प्रोत्साहान स्वरूप अनुदान रकम प्रवाह गर्ने रणनीति भएको बताउनुभएको थियो । एडीएस विज्ञसमेत रहेका भट्टराईले कर्णाली प्रदेशमा विगत २० वर्षमा अन्नबाली र क्षेत्रफलको प्रकृति, खेतीयोग्य जमिन सिञ्चित जमिन, उत्पादन हुने प्रमुख बालीको रूपरेखा प्रस्तुत गर्नुभएको थियो । बाख्रा, कुखुरा, भैँसी पालनबाट किसानको आयआर्जन सुधार हुने सम्भावना बोकेकाले पशुतर्फ लाग्न उहाँको आग्रह थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्माले कृषि विकास रणनीति निर्माण गर्न लागेकोप्रति खुसी व्यक्त गर्दै किसानको भावना मर्म जाजरकोटका ७ वटै पालिकाको भौगोलिक अवस्थाअनुसार खेतीको पहिचान गरी कृषि पेसालाई व्यावसायीक वनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्