प्रदेश २ बाहेक अन्य प्रदेशको अधिवेशन सम्पन्न

१६ जिल्लाको अधिवेशन महाधिवेशनपछि


 काठमाडौं

मंसिर २४ देखि १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसले सात मध्य ६ वटा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । सर्लाही जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन नसक्दा कांग्रेसको २ नम्बर प्रदेशको अधिवेशन प्रभावित भएको छ ।

चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा आज सोमबार प्रतिनिधिसभा १ र ३ को प्रदेशसभामा अधिवेशन गर्ने र क्षेत्र नम्बर २ र ४ मा भोली मंगलबार अधिवेशन गर्ने कार्यतालिका बनाइएको केन्द्रीय निर्वाचन समितिका सदस्य तेज वहादुर रावलले बताउनुभयो । महाधिवेशनको मिति नजिकिसकेकोले सार्लाहमा छिटोभन्दा छिटो प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने चुनौती थपिएको छ ।

क्षेत्रीय अधिवेशन हुन नसक्दा सर्लाहीबाट आउने एकसय भन्दा बढी महाधिवेशन प्रतिनिधि पनि निर्वाचित हुन सकेका छैनन् । आठ जिल्ला रहेको प्रदेश नम्बर २ को अधिवेशन जनकपुरमा सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको थियो । मंसीर १६ र १७ गते गर्ने भनिएको प्रदेश अधिवेशन कार्यतालिका अुनसार नहुँदा महाधिवेशनमा समेत असर पर्ने देखिएको छ ।

कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूकोे अधिवेशन महाधिवेशन पछि गर्ने निर्णय गरिसकेको छ । प्रदेश २ को आठ जिल्लाका साथै सिन्धुली, मकवनपुर, सिन्धुपाल्चोक, चितवन, नवलपरासी पूर्व, बाँके, अछाम र कैलाली जिल्लाको अधिवेशन गर्न बाँकी छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएअनुसार बिहीबार बसेको निर्वाचन समितिको बैठकले प्रदेश अधिवेशन शुरू भएको र मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्नुपर्ने भएकोले बाँकी १६ जिल्लाको अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिको अनुसार १४औं महाधिवेशनपश्चात् जिल्ला अधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरिने छ ।
मंसिर २४ देखि हुने महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयनपत्र दर्ता, सो माथि पर्ने दाबी विरोध दर्ता र सो उपरको निर्णय मंसिर २६ गते बिहान ८ बजेदेखि १२ बजेसम्म गरिनेछ ।

उम्मेद्वारको पहिलो नामावली सोही दिन १२ बजेदेखि ३ बजेसम्म प्रकाशन गर्ने तयारी गरेको निर्वाचन समितिले मनोनयन फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय मंसिर २६ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म तोकेको छ । महाधिवेशनमा नेतृत्व चयनको लागि मतदान प्रक्रिया मंसिर २७ गते बिहान ८ बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।