उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित


दुर्गाप्रसाद शर्मा, पर्वत। 

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो ।

मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो बढ्ने गर्दछ । उपल्लो मुस्ताङमा आंशिक हिमपात भएसँगै उच्च लेकका डाँडाकाँडा सेताम्मे भएका छन् । तर बाक्लो हिमपात नभएकाले बस्ती क्षेत्रमा भने खासै हिउँ नजमेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले बताउनुभयो ।

उहाँका अनुसार उपल्लो मुस्ताङमा तापक्रम घटेर माईनस १५ डिग्री सेल्सियस पुगेको छ । चिसो अप्रत्यासित बढेकाले शाखा नदी, घरका धारा, सेफ्टी ट्यांकी र सिँचाइ कुलोसमेत जमेको छ । उपल्लो मुस्ताङमा हिमपात भएसँगै खर्कमा पालन गरिएका चौरी गाई, भेडा च्यांग्रासमेत बस्ती नजिक झारिएको छ । चिसो बढेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने लोमान्थाङ, ठिंगर, सम्जुङ, चुमजुङ, फुवा, छोसेर र कोरला नाका आसपासका क्षेत्रमा हिमपात भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, यारा, घारा, ढिँ र सुर्खाङ लगायतका क्षेत्रमा आशिंक हिमपात भएको लोघेकर दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङमा हिउँदयाम लागेपछि जाडो छल्न स्थानीय बेसी झर्ने परम्परा छ । गत वर्ष कोरोना कहरले गाउँमै थुनिएका स्थानीयहरू यस पटक भने जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झरेका छन् । उपल्लो मुस्ताङ र कोरला नाकासम्म जाने आन्तरिक पर्यटकको उपस्थितिसमेत नगन्य हुन थालेको पर्यटन होटल हिमालयन लोमान्थाङका पर्यटन व्यवसायी गोम्बो गुरुङले जानकारी दिनुभयो ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत स्थानीय चिसोकै कारण बेसी झरिसकेका छन् । चिसो र हिमपातको मौसम भएकाले सबै विकासे योजनाको काम ठप्प भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेरक दामोदरकुण्ड गापा अन्तर्गतका अधिकांश सामुदायिक गुम्बा, निजी विद्यालय जाडो छल्न मंसिर कार्तिकको पहिलो साता

बेसी झरिसकेका छन् । उनीहरूलाई पोखराका बिभिन्न स्थानमा स्थान्तरण गरी पठन÷पाठन गरिएको छ ।
उपल्लो मुस्ताङमा खेतीपातीको कामकाज सकेर स्थानीय बेसी झर्छन् । उनीहरू हिउँद सकिएर गर्मी शुरू भएपछि खाद्यान्न र लत्ताकपडा लिएर उकालो उक्लिन्छन् । घुम्तीका विद्यालय वैशाख लागेपछि साविककै स्थानमा लगेर पठन-पाठन गर्ने गरिन्छ ।
यस्तै, उपल्लो मुस्ताङमा चिसो बढेसँगै त्यहाँको दुई स्थानीय तहका कर्मचारीसमेत जोमसोम झर्ने तयारी गरेका छन् । स्थानीय स्तरमा नागरिक नभएको र सेवा प्रवाहमा समेत कठिनाई हुने हुँदा स्थानीय तहको सम्पर्क कार्यालय जोमसोममा राखिएको छ । उनीहरूले पालिकाले दिने अति आवश्यकीय सेवा सम्पर्क कार्यालयबाटै दिने व्यवस्था मिलाइएको छ ।