सरकारमा जान एक वर्ष पनि पर्खनुपर्दैन: ओली


काठमाडौं, (नेस) । 

भर्खरै १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभयो । आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने उल्लेख गर्दै उहाँले भन्नुभयो–‘अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछ ।’

आफ्नो नेतृत्वको सरकार हुँदा केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको टिप्पणी गर्दै उहाँले अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा र रानीपोखरी बनेपछि तिनको छाती पोल्यो, तिनको दिमाग भतभती पोल्यो ।’

कार्यक्रममा उहाँले अब तीन तहको निर्वाचनमा पार्टीले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । एमालेले आगामी स्थानीय तहको निर्वाचनमा जसरी पनि पहिलो पार्टी बन्ने नीतिअनुरूप स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने बताएको छ । पार्टीभित्र अब कुनै पनि प्रकारको विवाद नरहेको निष्कर्ष निकाल्दै एमालेले संगठनलाई थप मजबुद्ध बनाउँदै बहुमत ल्याएर सरकारमा सहभागी हुने दाबी गरेको छ ।