‘पार्टीको सामयिक कल्याण गर्न’ सभापतिको उम्मेदवार बन्दै कल्याण


भूपराज बस्याल, काठमाडौं । 

नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीमा युवा सहभागितासँगै उल्लेखनीय सुधार गर्ने भन्दै सभापति पदमा उम्मेदवारी दिनुभएको छ ।

उहाँले देशभरिबाट ६० देखि ७० प्रतिशत युवा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर आउने र उनीहरूले पार्टीमा परिवर्तन खोज्ने बताउनुभएको छ । परिवर्तन र न्यायको पक्षमा आफ्ना आवाज बुलन्द गर्ने व्यक्तिलाई सभापति पदमा जिताउनुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ गुरुङ ।नेपाली कांग्रेसलाई आउने तिनै तहको निर्वाचनमा जिताउन कांग्रेसभित्र निष्पक्षता र पारदर्शिता हुनु आवश्यक रहेको बताउँदै सबै कार्यकर्ताको न्याय अवसरमा समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसमा मौलाएको अवसरको निम्ति कसैलाई काखा कसैलाई पाखाको अन्त्य गर्दै अवसरको सुनिश्चितता हुन्छ भन्ने किसिमको वातावरण सिर्जना गराउन राजनीतिक न्याय र राजनीतिक सुरक्षा पार्टीले प्रदान गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।उहाँले पार्टी भित्रबाट दिइने राजनीतिक अवसरहरूमा केवल आफ्नो मान्छे, आफ्नो परिवारको मान्छे आफ्नो नातागोताको मान्छे या आफूले चिने जानेको मान्छेलाई दिने होइन कि पार्टीभित्र लगातार काम गरेका पुराना अग्रज नेताहरूदेखि वर्तमान युवा पुस्तासम्मलाई अवसरहरूको न्यायोचित वितरण गर्नुपर्छ भन्नुभयो ।

उहाँले पार्टी सभापति भएपछि सबैभन्दा पहिलो काम तोकिएकै मिति स्थान र समयमा कांग्रेसको केन्द्रीय महाधिवेशन गराउने बताउनुभयो ।
कांग्रेसको विधानले चार वर्षभित्र नै महाधिवेशन गरिसक्नुपर्ने हो तर पाँच वर्ष भन्दा बढी समय लम्ब्याउनाले नेताहरूको पदावधि मात्र लम्बिने पार्टीको लोकप्रियता चाहिँ खुम्चेर जाने बताउनुभयो । खारिएर आएको नेतृत्वमा मात्र चुनौती आउने र त्यस्तो नेतृत्वले संगठनलाई चलायमान बनाउन नसक्ने र जनताको बीचमा लोकप्रियता हासिल गर्न नसक्ने बताउनुभएको छ ।

दुई पटकभन्दा बढी कोही पनि प्रधानमन्त्री तथा मन्त्री हुन नपाउने र एक पटकभन्दा बढी नेपाली कांग्रेस तर्फबाट कोही पनि रास्ट्रपतिको उमेदवार हुन नपाउने व्यवस्था गर्नेमा जोड दिनुभयो ।त्यसै गरी हरेक स्थानीय तहको निर्वाचनमा आधा स्थानीय तहको प्रमुख चाहिँ महिलालाई दिने, राजनीतिक नियुक्ति लिने एक व्यक्ति एक पटकलाई मात्रै हुने व्यवस्था विधानमै गर्ने योजनाका साथ आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभयो ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद एक पटक मात्रै हुने व्यवस्था विधानमै उल्लेख गर्ने उहाँको भनाइ छ । भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको मितिमा हुन नसकेमा स्वतः विघटन हुने व्यवस्था म नेपाली कांग्रेसको बिधानमा नै राख्ने तथा भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई चलायमान बनाउने उहाँले बताउनुभयो ।

कांग्रेसको केन्द्रीय सभापतिमा निर्वाचित भइसकेपछि युवा वर्गलाई स्थानीय तह, प्रदेश र संघीय तहमा सबै तहमा म ५० प्रतिशत टिकटको व्यवस्था गर्ने गुरुङको योजना रहेको छ । आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम खाआर्य सबै वर्ग समुदायको प्रतिनिधित्व हुने गरी ७० प्रतिशत टिकट युवालाई दिने तथा मन्त्री बनाउँदा ५० प्रतिशत युवा समेट्ने उहाँको महत्वकांक्षी योजना रहेको छ । एक ब्याक्ती दुई पटकभन्दा बढी मन्त्री हुन नपाउने वैधानिक व्यवस्था गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘यदि मैले नेपाली कांग्रेसको केन्द्रीय पार्टी सभापति जितें भने उपसभापतिको नेतृत्वमा बन्ने नीति तथा प्रतिष्ठामा ८० प्रतिशत युवाहरूलाई राखेर देशव्यापीरूपमा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्छु ।’ भ्रातृ संस्था तथा शुभेच्छुक संस्थामा प्रशिक्षण सञ्चालन गर्ने र नेपाली कांग्रेसलाई देशको सबैभन्दा लोकप्रिय पार्टी बनाएर बहुमत स्थानमा विजय हासिल गराउन आफ्नो उम्मेदवारी आवश्यक रहेकोमा बताउनुभयो ।

आफू दुईपटकभन्दा बढी सभापति र प्रधानमन्त्री नबन्ने उल्लेख गर्दै उहाँले त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मेरो केन्द्रीय सभापतिको उम्मेदवारीको मुख्य एजेन्डानै पार्टीका अवसरहरू समान ढंगले वितरण हुनुपर्छ भन्ने त्यसैले आफ्नो प्रभाव रहुन्जेल पार्टी सभापति बन्नुपर्छ आफ्नो प्रभाव रहुन्जेल प्रधानमन्त्री बहिरहनुपर्छ भन्ने मान्यता तोड्नकै लागि मेरो उम्मेदवारी भएको हुँदा यसलाई सहि ढंगले कार्यनयन गर्छु ।’

पार्टी सभापति मात्रै होइन पार्टीका कुनै पनि पदाधिकारी चाहे उपसभापति हुन्, चाहे महामन्त्री हुन् चाहे सहमहामन्त्री हुन् सरकारमा मन्त्री वा प्रधानमन्त्री भएर गएमा निजको पद तत्काल रिक्त हुने र निज कार्यकारीको सदस्य मात्रै भैइराख्ने व्यवस्था म नेपाली कांग्रेसको विधानमा नै गर्ने उहाँको भनाइ छ ।

अहिलेसम्मका नेतृत्वले चुनाव नजिकिँदै जाँदा राम्रा एजेन्डा बाहिरिने र नेतृत्वमा पुगेपछि ती एजेन्डा बिर्सने गरेकाले त्यसको विरुद्धमा उम्मेदवारी दिएको युवा नेता गुरुङले बताउनुभयो ।उहाँले गुटबन्दी खारेज गर्ने, पार्टीलाई निष्पक्ष र पारदर्शी ढंगले चलाउने बताउनुभयो । भन्नुभयो– ‘मेरो एउटै भनाइ के हो भने पार्टीलाई म विधान अनुसार सञ्चालन गर्छु पार्टीलाई व्यक्ति अनुसार सञ्चालन गर्न दिन्न ।’