सात घण्टा कुरेर मतदान

कांग्रेसको वागमती प्रथम अधिवेशन


रोशन पराजुली, हेटौंडा

प्रदेश राजधानी हेटौंडामा नेपाली कांग्रेसको प्रथम वागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया निकै ढिलो शुरू भएको छ । एउटै पार्टीबीच ३ खेमामा बाँडिएर मतदान ढिलो हुँदा कार्यकर्ताले अधिवेशन स्थलमा नाराबाजी गरेका थिए ।

लाइनमा बसेका मतदाताले ‘मतदान प्रक्रिया छिटो गर, निर्वाचन अधिकृत मुर्दावाद’ लगायत नारा लगाएका थिए । उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाइ भएकाले मतदान प्रक्रियामा ढिलाइ भएको निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिका अनुसार मतपत्र छपाइको काम तोकिएको समयभन्दा ढिलो भएपछि मतदान ढिलो शुरू भएको हो । मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो । मतदानको समय १० बजेसम्म तोकिएको थियो । शुक्रबार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबडी भएकाले पनि मतदान शुरू हुन अबेर भएको हो ।

शनिबार बिहान ९ बजेदेखि शुरू गर्ने भनिएको कांग्रेसको वागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतदान प्रक्रिया ७ घण्टापछि दिउँसो करिब ४ बजे शुरू भएको थियो । कम मतदाता भएका ३ जिल्लाका लागि एउटा, काठमाडौंका लागि ३ वटा र अन्य जिल्लाका लागि १÷१ वटा गरी १० वटा मतदान केन्द्र बनाइएको थियो ।

सभापतिमा संस्थापनबाट इन्द्र बानियाँ (मकवानपुर), संस्थापनइतर रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीशनरसिह केसी (नुवाकोट) र कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधान (काठमाडौं) ले उम्मेदवारी दिनुभएको छ ।
संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिनुभएको छ । संस्थापनइतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल (माइकल), कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोलको उम्मेदवार परेको छ ।

प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र परशुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिनुभएको छ ।कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र नेता सिटौला पक्षले वागमतीमा गठबन्धन बनाउने प्रयास गरे पनि असफल भएको छ । सभापतिमा तीन जनाको उम्मेदवारी परेसँगै देउवा–सिटौला गठबन्धन नबनेको होे ।

प्रदेश–१ मा सिटौला पक्षलाई संस्थापनले सघाएर वागमतीमा सिटौला पक्षले संस्थापनका उम्मेदवारलाई सघाउन आग्रह गरिएको थियो । तर, सभापतिका उम्मेदवार प्रधान पछि हट्न तयार हुनुभएन । एकले अर्कोलाई छाड्न तयार नभएपछि वागमतीमा त्रिपक्षीय भिडन्त भएको छ ।

तामाङ र मसिना निर्विरोध

निर्वाचन समितिले जारी गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार रसुवाका लामा कार्पु तामाङ र सिन्धुपाल्चोककी मसिना खड्का निर्विरोध चयन हुनुभएको छ । लामा कार्पु र मसिना जिल्ला कोटाबाट उम्मेदवार बन्नुभएको थियो । प्रदेश अधिवेशनमा प्रदेशभित्र रहेका प्रत्येक जिल्लाबाट एक महिलासहित दुई सदस्य निर्वाचित हुने व्यवस्था छ ।जसअनुसार सिन्धुपाल्चोकमा महिला कोटामा मसिनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । रसुवामा भने एकमात्र निर्वाचन क्षेत्र भएकाले एक सदस्य निर्वाचित हुन पाउने व्यवस्था छ । जसअनुसार लामा कर्पुको मात्र उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।

९१ का लागि २ सय ५७ को उम्मेदवारी

कांग्रेसको प्रदेश अधिवेशनका लागि २ सय ५७ जनाको उम्मेदवारी परेको छ । प्रदेशमा हुने ९१ सदस्यीय कार्यसमितिका लागि २ सय ५७ जनाको उम्मेदवारी परेको कांग्रेस प्रदेश निर्वाचन समिति सहसंयोजक रामकुमार अधिकारीले जानकारी दिनुभयो ।अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुलातर्फ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् । सदस्यतर्फ खुलामा ८५ जना, समावेशीतर्फ १ सय ४८ जनाको उम्मेदवारी परेको छ ।

अधिकारीका अनुसार अधिवेशनमा १३ जिल्लाका २ हजार १ सय ३७ प्रतिनिधि सहभागी छन् । अधिवेशनमा ८ सय ७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी २ हजार १ सय ३७ जना नेतृत्व चयनमा सहभागिता जनाउँदै छन् । संघीय संरचनाअनुसार कांग्रेसले पहिलोपटक नेतृत्व चयन गर्न लागेको हो ।

क्याम्पसमा अधिवेशन र निर्वाचन

कांग्रेसले प्रदेश अधिवेशन स्थान हेटौंडाको वनविज्ञान अध्ययन संस्थानलाई बनाएको छ । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान (एएफयू) अन्तर्गत मास्टर्स तहको परीक्षा जारी रहेको बेला कांग्रेसको प्रदेश अधिवेशन तथा चुनावी कार्यक्रम गरिएको हो ।वनविज्ञान अध्ययन संस्थान क्याम्पस प्रमुख श्रीकुमार माञ्जनले कार्यक्रमले पठनपाठनमा समस्या ल्याए पनि पढाइ अवरुद्ध नभएको दाबी गर्नुभयो । उहाँले ‘राजनीतिक दबाब’ का कारण कार्यक्रम गर्न अनुमति दिइएको बताउनुभयो ।

दुई विद्यार्थी संगठनले भने प्रदेश अधिवेशन गर्ने नाममा वनविज्ञान अध्ययन संस्थानलाई राजनीतिको अखडा बनाइएको भन्दै भत्र्सना गरेका छन् । ती विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै पठनपाठन र परीक्षालाई समेत असर पर्ने गरी कांग्रेसको अधिवेशन तथा निर्वाचन प्रक्रिया भएकोमा भत्र्सना गरेको छ ।

अनेरास्ववियु तथा अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था भित्रको शैक्षिक वातावरण खलल हुने गरी अधिवेशन गर्न दिइएकोप्रति विरोध गरेका हुन् । यसअघि विद्यार्थीको कदरस्वरूप सफल विद्यार्थीहरूको तस्बीरसमेत टाँस्न नदिने प्रशासनले राजनीतिक दलका नेताहरूको तस्वीर क्याम्पस परिसरमा टाँस्न दिएर अनैतिक काम गरेको विद्यार्थी संगठनहरूको आरोप छ । विरोधपछि मुलगेटबाट सचिवालयसम्म टा“सिएका प्रचारप्रसार सामग्रीहरू शनिबार दिउँसो हटाइएको थियो ।

कांग्रेस अधिवेशनको प्रचार व्यानर

नेपाली कांग्रेसले १४औं महाधिवेशनको प्रचार व्यानर सार्वजनिक गरेको छ । मंसिर २४ मा महाधिवेशनको उद्घाटन गर्न लागेको कांग्रेसले व्यानर सार्वजनिक गरेसँगै केन्द्रीय प्रचारप्रसार समितिले महाधिवेशनपूर्वको एक हप्ते प्रचार अभियान पनि शुरू भएको जनाएको छ ।
नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिन्ह रूख तथा वीपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अंकित प्रचार ब्यानरको छोटो भिडियो पनि निर्माण गरिएको छ ।