राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


न्युज अफ नेपाल,  काठमाडौं ।

काग्रेस उपसभापति विमलेन्द्र निधिले राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको बताउनु भएको छ ।
काठमाडौं
संघीयताको विरोध गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । १५ गते देखि जारी एकता महाधिवेशनमा नेतृत्वका अर्का दाबेदार निवर्तमान अध्यक्ष कमल थापालाई दुई सय मतले पछाडी पार्दै लिङदेनले विजयी प्राप्त गर्नुभएको हो ।अध्यक्षको लागि भएको मतदानमा कुल ३ हजार ८ सय ६५ मत खसेको थियो । जसमा लिङदेनले १ हजार ८ सय १७ मत प्राप्त गर्नुभएको थियो भने थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नु भएको थियो । ४ सय ३१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा अन्य उमेद्वारको लागि मतदान गर्न विधुतिय मेसिनको प्रयोग गरिए पनि अध्यक्ष पदको लागि मतपत्रमा स्वस्तीक छाप लगाएर मतदान गरिएको थियो ।

शनिवार राती अवेर मतदान सकिए लगत्तै मतगणना शुरु गरिएको थियो । चार उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुव वहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । पाण्डेले २ हजार ५ सय २१ मत प्राप्त गरेका थिए भने तामाङले १ हजार ९ सय ४४ मत प्राप्त गरेका थिए । प्रधानले १ हजार ८ सय १४ र कार्कीले १ हजार ५ सय ८९ मत प्राप्त गरेका थिए ।

तीन महामन्त्रीमा डा. धवल शम्सेर राणा, भुवन पाठक र कुन्ति शाही विजयी भएका छन् । निर्वाचन समितिका अनुसार राणाले २ हजार २ सय २१ मत प्राप्त गरेका थिए भने पाठकले १ हजार ७ सय ५ मत प्राप्त गरेका थिए । महिला महामन्त्रिमा शाहीले चर्चित अनुहार रेखा थापालाई पराजित गर्नुभएको थियो । शाहीको २ हजार ८ मत आएको थियो भने थापाको १ हजार ६ सय ४० मत आएको थियो ।

एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री सहित कुल १ सय ९९ सदस्यीक कार्यसमिति रहने राप्रपाकोे १ सय ४९ जना निर्वाचित हुनुपर्ने प्रावधान छ । महाधिवेशनमा थापा र लिङदेन दुवैले प्यानल सहित नेतृत्वको दाबी गरेका थिए ।
अध्यक्षमा पराजित भएपछि थापाले आक्रोश मिश्रित प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत सार्वजनीक गनुृभएको थियो । प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु भन्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिनु भएको थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाउनु भएको थियो ।

प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु भन्दै थापाले भन्नुभएको छ– पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई जीबीबी शाह धन्यवाद । थापाले सामाजिक सञ्जालमा लेखेका छन– सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।

अध्यक्षमा विजयी लिङदेनले राप्रपाको नेतृत्व नया पुस्तामा आएको भन्दै अब पार्टीको एजेण्डा स्थापित गर्न अझ वलियो शसक्त ढंगले लाग्ने बताउनु भएको छ । गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट काग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरि सांसद जितेका लिङदेन यस अघि पार्टीको महामन्त्री थिए ।राप्रपाको अध्यक्षमा विजयी हुनु भएकोमा लिङ्देनलाई बधाई दिदै प्रमुख सत्ताधारी दल नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको बताउनु भएको छ । मंसिर २४ देखि महाधिवेशन गर्न लागेको काग्रेस भित्र निधि पनि नेतृत्वका दाबेदार हुन ।

कमल थापाको नेतृत्वमा रहेको राप्रपा पशुपति शम्सेर जवराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकिकृत राप्रपा राष्ट्रवादी वीचको एकता पछि यो अधिवेशन भएको हो । अघिल्लो एकता महाधिवेशन लगत्तै यो पार्टीबाट डा. लोहनी अलग भै एकिकृत राप्रपा राष्ट्रवादी पार्टीको नेतृत्व गर्नुभएको थियो । ०७४ श्रावण मा यो पार्टीबाट पशुपति शम्सेर जबरा पनि अलग भै राप्रपा प्रजातान्त्रिक तर्फ लाग्नु भएको थियो । ०७५ मा लोहनीले नेतृत्व गर्नुभएको एकिकृत राप्रपा राष्ट्रवादी र राणाले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक एकिकृत भै राप्रपा सयुक्त गठन भएको थियो । ०७६ फागुनमा कमल थापाले नेतृत्व गर्नु भएको राप्रपा र राप्रपा सयुक्त वीच अध्यक्षत्रय रहने गरि एकता भएको थियो ।