काष्ठमण्डप पुनर्निर्माण लगभग पूरा उद्घाटनको तयारी हुँदै


ईश्वरराज ढकाल, काठमाडौं । 

भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पूनर्निर्माण लगभग पूरा भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक प्रदेश सांसद राजेश शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माण कार्य सम्पन्न भइसकेको, केवल घेराबार राख्ने काम मात्रै बाँकी रहेको छ ।

उहाँले तोकिएकै समयमा काम सकेर चाँडै नै राष्ट्रपतिको हातबाट उद्घाटन गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । पूनर्निर्माणका क्रममा लगाइएका वरिपरिका खटहरू खोलि सकिएको छ । भुइँ तलामा तेलिया टायल लगाउने, पूर्वी प्रवेशको खुड्किला बनाउने काम थालिसकिएको छ । मंसीर १७ गते भुइँ तलामा दोस्रो घेराको उत्तरपश्चिम कुनाको गणेश (सूर्य विनायक) भन्दा अगाडि रहेको माय्सिं जडान गरिएको थियो । कार्यक्रममा वास्तुविद, सल्लाहकार समिति तथा विज्ञ समूहबाट प्रा.डा. सुदर्शनराज तिवारी, कोषप्रसाद आचार्य, काइवाइ सेसहित अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डप पुनर्निर्माणका लागि २०७५ साल वैशाख १८ समिति गठन भएको थियो । काठमाडौं महानगरपालिकाको स्वमित्वमा रहेको काष्ठमण्डप कसले पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद भइरहँदा प्रदेश सांसद शाक्यको संयोजकत्वमा स्थानीयको सहभागितामा ५५ सदस्यीय समिति निर्माण गरी पूनर्निर्माण शुरू गरिएको हो ।

कामपा र पुरातत्व विभागले करिब १९ करोड खर्च हुने इस्टिमेट गरेपछि खर्र्चको विषयमा विवाद बढेको थियो । इस्टिमेटमा शंका लागेपछि कामपाले आफ्नै खर्चमा पुनर्निर्माण गर्ने योजना बनाएको थियो । काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपियाँ विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो । यसको पुनर्निर्माणमा करिब ११ करोड ३९ लाख खर्च भएको समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीको भएको तर काष्ठमण्डप सातौं शताब्दीमा निर्माण गरिएको जानकारी दिँदै संयोजक शाक्यले भन्नुभयो– ‘एउटै काठले बनेको भन्ने किंवदन्ती अब हटेको छ । अहिले काठबाहेक ढुंगा, माटो, इँटा, तामालगायतका सामग्रीको प्रयोग गरिएको छ । यद्यपि, पुरातात्विक महत्वको काष्ठमण्डप काठैकाठले बनेको छ । पुनर्निर्माणमा विभिन्न ६ जिल्लाबाट ल्याइएको काठहरू प्रयोग गरिएको छ ।’

युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा आंैल्याएपछि जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थपिएको हो ।
अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७ औँैं शताब्दी हाराहारीको हुनसक्ने प्रमाणहरू भेटिएको थियो । काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो । यसका लागि पुरानो माः अप्पाको नमुनालाई प्रयोगशालामा पठाई इन्जिनियरिङ्ग परीक्षण गराइएको थियो । काष्ठमण्डपमा प्रयोग भएको माः अप्पा हाल बजारमा उपलब्धभन्दा भिन्न आकारको रहेकोले सोही बमोजिम यसको उत्पादन र आपूर्तिको लागि प्रयास गरिएको थियो ।

स्थानीय समुदायको सहयोग नभएको भए यस्तो सम्पदा पूनर्निर्माण हुन गाह्रो हुने जिकिर गर्दै संयोजक शाक्यले भन्नुभयो – ‘समुदायसँग मिलेर सातौँ शताब्दीको जग प्रयोग गरिए पनि गारोमा थप थाम राखेर सबल बनाएका छाै, नेपालको प्रविधिले यसरी पुरातात्विक महत्वलाई जोगाउन सकेको यो ठूलो उदाहरण हो ।’चीन, कोरिया, जापानलगायत विकसित राष्ट्रले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने प्रमाणित भएको धारणा राख्दै उहाँले भन्नुभयो – ‘काष्ठमण्डप नेपालीले नै बनाएर देखाएका छन्, अब यस्ता अन्य सम्पदाहरू बनाउन नेपालीलाई नै अवसर आउनेछ भन्ने सोचेको छौं । काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको हो ।

समितिका सचिव गौतम डंगोलका अनुसार ०७८ कार्तिक मसान्तसम्ममा पूनर्निर्माणका लागि ल्याइएका करिब ७६ हजार ठूलो माः अप्पा प्रयोग भइसकेको छन् । यसैगरी करिब ८६ हजार ८ सय सानो माः अप्पा, २ सय २४ वटा फः अप्पामध्ये १ सय ७९ फः अप्पाको प्रयोग भइसकेको छ । करिब १७ हजार तेलिया ईंटामध्ये १४ हजार प्रयोग भइसकेको छ । यसैगरी करिब ९१ हजार झिँगटीमध्ये ७४ हजार प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन् ।

सचिव डंगोलका अनुसार करिब ९ हजार क्युविक फिट काठ प्राप्त भएको छ । जसमध्ये करिब ८ हजार क्युविक फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४ सय ९३ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ ।