राप्रपाको नेतृत्व छनोट: राती अबेरसम्म मतदान


काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको अन्तिम दिन हिजो शनिबार नेतृत्व छनोटको लागि मतदान भएको छ । राती अबेरसम्म निर्वाचन भएकोले आज आइतबार मात्र नतिजा आउने भएको छ । मंसीर १५ देखि अधिवेशन शुरू गरेको राप्रपाको कार्यसमितिमा रहने १ सय ९१ जनामध्ये १ सय ४९ जना निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् भने बाँकीको मनोनयन हुनेछ ।

राप्रपाको अध्यक्ष पदको मतदानका लागि मतपत्रमा प्रयोग गरिएको छ भने अन्य पदको लागि विद्युतीय मेसिन प्रयोग गरिएको छ । शनिबार बिहान ११ बजेबाट साँझ ५ बजेसम्म मतदानको समय छुट्टाइए पनि ढिलो गरी मतदान प्रक्रिया शुरू भएकोले राती अबेरसम्म मतदान कार्य जारी थियो । राप्रपा नेता राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार मतदान कार्यक्रम राती १२ बजेसम्म चल्नेछ ।
एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १ सय ४१ केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा २ सय ९१ जनाको उम्मेदवारी परेको थियो ।

जसमा अध्यक्षमा दुई जना, उपाध्यक्षमा नौ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यको लागि २ सय ७६ जनाको उम्मेदवारी परेको थियो ।
राप्रपा अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित निर्वाचनमा होमिएका छन् । थापा पक्षबाट उपाध्यक्षका उम्मेदवारमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, धु्रवबहादुर प्रधान र रोशन कार्की छन् । पाण्डे भने लिङ्देन पक्षबाट पनि उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । दुवै प्यानलमा परे पनि पाण्डेले लिङ्देनलाई भोट मागेको प्रतिनिधिहरूले बताएका छन् । लिङ्देनको प्यानलमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीलादेवी श्रेष्ठ उपाध्यक्षका उम्मेदवार छन् । उपाध्यक्षमा दुर्गा श्रेष्ठ र जगत गौचनले पनि उम्मेदवारी दिनुभएको छ ।

थापा पक्षबाट महामन्त्री पदका लागि भुवन पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाहीको उम्मेदवारी परेको छ भने लिङ्देन पक्षबाट रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनाको उम्मेदवारी परेको छ । राप्रपा महाधिवेशनमा मतदाताको रूपमा ४ हजार ३ सय ८० जनाको अन्तिम नामावली प्रकाशित गरिएको छ ।कमल थापाको नेतृत्वमा रहेको राप्रपा, पशुपति शम्शेर जवराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकिकृत राप्रपा राष्ट्रवादी बीचको एकतापछि यो अधिवेशन भएको हो । अघिल्लो एकता महाधिवेशनलगत्तै यो पार्टीबाट डा. लोहनी अलग भई एकीकृत राप्रपा राष्ट्रवादी पार्टीको नेतृत्व गर्नुभएको थियो ।

०७४ साल श्रावणमा यो पार्टीबाट पशुपति शम्शेर जबरा पनि अलग भई राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको थियो । ०७५ सालमा लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादी र राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक एकीकृत भई राप्रपा संयुक्त गठन भएको थियो । ०७६ साल फागुनमा कमल थापाले नेतृत्व गरेको राप्रपा र राप्रपा संयुक्तबीच पार्टीमा तीन जना अध्यक्ष रहने गरी एकता भएको थियो ।