बेपत्ता छोराछोरी खोज्दै आमा काठमाडौँमा



विमल विष्ट, काठमाडौ ।

डोटीको सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेबी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिनका लागि काठमाडौँ पुग्नु भएको छ । बिसं २०५७ सालमा नावालक छोरा नरेशबहादुर सिंह तथा छोरी दुर्गाकुमारी सिंहलाई बालमन्दीरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका–तथा हाल गोदावरी नगरपालिका–८ जमुनाभाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेबी सिंहले लगेको थियो ।

सिंहले गङ्गादेबीका ती नाबालकहरु छोरा छोरीलाई नेपाल बाल संगठन केन्द्रिय कार्यालय बालमन्दीर नक्सालमा भर्ना गरेको र पछि ती बालबालिकाहरु नेपाल बाल संगठनले दुइ वर्ष राखी छोरी दुर्गालाई बिसं २०५९ मा स्पेन देशका नागरिक मार्ता कम्पीलिट तथा छोरा नरेशलाई बिसं २०५८ सालमा इटाली देशका नागरिक त्रिभिरी फरेन्स्को र बुज्जेरो अन्ना इम्लियालाई धर्मपुत्रका रुपमा पठाएको नेपाल बाल संगठनको रेकर्डमा देखिएको छ । तर ती बालबालिका हाल सम्म पनि आमाको फोन सम्पर्कमा नभएपछि ७० वर्षीया गङ्गादेबी आफ्ना छोरा छोरीको अवस्था बुझिदिनका लागि अहिले काठमाडौँ पुग्नु भएको हो ।

घरमा अन्य परिवारका सदस्य नभएको र छोरा छोरीको पनि अवस्था वर्षौ सम्म अज्ञात रहेका कारण उनीहरुको अवस्था बुझनका लागि आफु काठमाडौँ पुगेको ७० वर्षीया गङ्गादेबी सिंहले रुदै बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क पढाउछौँ भनेर छोरा छोरी घरबाट ल्याए, अहिले उनीहरु का छन् के गर्दैछन्, कुनै अत्तोपत्तो छैन्, म मर्ने अवस्थामा पुगि सके, मेरा छोरा छोरीसँग मेरो भेट गराइ दिनु प¥यो ।” गङ्गादेबीका छोरा छोरी बाल संगठनको जिम्मा दिने उहाँकी भान्जी नाता पर्ने जगत्रादेबीले ती बालबालिका अहिले कहाँ छन् आफुलाई पनि जानकारी नभएको बताउदै आएको पीडित आमाको गुनासो रहेको छ । आमा गङ्गादेबीले थप भन्नुभयो, “भान्जीले पनि मलाई बालबालिका कहाँ छन् जानकारी छैन सबै मिलेर खोजौँ भन्छिन, म बुढी मान्छे कहाँ खोजौँ, मेरो अवस्था यस्तो छ, मेरा भगवान पनि आफ्ना भएनन् ।”

उता नरेशबहादुर सिंह तथा दुर्गाकुमारी सिंहलाई पढाउने जिम्मा लिइ पछि धर्मपुत्रका रुपमा स्पेन र इटालीका नागरिकलाई जिम्मा दिने नेपाल बाल संगठन केन्द्रिय कार्यालय बालमन्दीर नक्सालमा समेत ती बालबालिकाका बारेमा थप कुनै खबर आएको रेकर्ड छैन् । सो संगठनका अध्यक्ष बिद्या न्यौपानेले २१ वर्ष अगाडी ती बालबालिका बाल संगठनमा भर्ना गरेको र उनीहरु स्पेन र इटालीमा पठाइएको भन्ने रेकर्ड मात्रै आफु कहाँ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्ना छोरा छोरीको अवस्था बुझनका लागि आमा गङ्गादेबी आउनु भएको थियो, नरेश र दुर्गालाई स्पेन र इटालीका नागरिकले धर्मपुत्रका रुपमा लगेको भन्ने रेकर्ड छ, बाँकी हामीसँग अन्य कुनै कागजपत्र छैन्, बालबालिका खोजी गर्नका लागि हामी पनि पहल गछौँ ।”

हाल सम्म अवस्था अज्ञात रहेका ती बालबालिकाको खोजीका लागि महिला तथा बालबालिका मन्त्रालयबाट पहल गरे चाडो पत्ता लाग्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । बर्षौदेखि अवस्था अज्ञात रहेका आफ्ना छोरा छोरीको खोजीका गरी दिनका लागि आमा गङ्गादेबीले बिभिन्न राजनैतिक दलका नेता, नागरिक समाज, मानत्र अधिकारकर्मी लगायत सबैमा आग्रह गर्नु भएको छ । दुइ छोरा छोरीको अवस्था वर्षौदेखि अज्ञात रहेपछि अहिले गङ्गादेबी साहरा बिहिन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्