बागलुङको पर्यटन चिनाउन पुस्तक र डकुमेन्ट्री


गलकोट ।

बागलुङमा रहेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान गराउन बागलुङ पर्यटन विकास समितिले अग्रसरता देखाएको छ । यसका लागि जिल्लाका पर्यटकीय गन्तव्य समावेश गरिएको जानकारीसहितको पुस्तक तथा डकुमेन्ट्री निर्माण गर्न थालिएको समितिले जनाएको छ । कोरोनाअघि जिल्लामा पर्यटन बोलाउन होटल व्यवसायीसँगको साझेदारीमा पर्यटन विकास समिति पोखरा हुँदै बन्दीरपुरको भ्रमणसमेत गरेको थियो । समितिले पर्यटकको सन्तुष्टिका लागि आवश्यक कुरा भ्रमणका क्रममा पर्यटन व्यवसायीले सिकेको बताउँछ ।

समितिको बैठकले पर्यटनसम्बन्धी कलम चलाइरहेका बागलुङका पत्रकारको सहयोगमा पर्यटकीय गन्तव्य समावेश गरेको पुस्तक तथा डकुमेन्ट्री निर्माण गर्न थालेको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । “कोरोनाअघि पर्यटनको प्रवद्र्धनका लागि केही कामको सुरुआत गरेका थियौँ, तर कोरोनामा अली सेलायौँ, तर पुनः अहिले पर्यटकीय क्षेत्रको दस्तावेजका लागि पुस्तक र प्रचारप्रसार गर्नका लागि भिडियो डकुमेन्ट्री उत्पादन गर्न थालेका हौँ ।”

समितिले पहिलो चरणमा पुस्तक र दोस्रो चरणमा डकुमेन्ट्री बनाउने लक्ष्य राखेको छ । सरकारले घोषणा गरेका जिल्लाभित्रका पर्यटकीय गन्तव्य तथा प्रदेश सरकारले घोषणा गरेका गन्तव्यसमेत उक्त पुस्तकमा समावेश हुनेछन् । त्यस्तै जिल्लाका ग्रामीण क्षेत्रमा रहेर लोपोन्मुख कला, संस्कृति पनि पुस्तकमा जानकारीका रुपमा राखिने जनाइएको छ ।पुस्तक तथा डकुमेन्ट्री निर्माणका लागि पत्रकार प्रकाश बलासका संयोजनमा राम थापा, किरण आचार्य र खेमराज गौतम रहनुभएको समिति गठन गरिएको छ । पुस्तकमा लुकेर रहेका हम्फै, पुतलीलगायतका नाचलाई समावेश गरिनेछ ।

जिल्लाका पर्यटकीयस्थलकोे एकमुष्ठ जानकारी अहिलेसम्म नभएकाले पुतली बनाउन लागिएको छ । समितिको आन्तरिक स्रोतबाट पुस्तक बनाइनेछ । पुस्तक तथा डकुमेन्ट्रीलाई पर्यटन सम्बद्ध सङ्घसंस्था, पालिका र सरकारबाट पनि साथ र सहयोग पाउने समितिको आशा रहेको छ । सरकार र गण्डकी प्रदेश सरकारसमेतले दर्जनबढी स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचिकृत गरेका छन् । बागलुङ कालिका, पञ्चकोट, ढोरपाटन, भकुण्डे, गाजाको दह, घुम्टे र शालग्राम सङ्ग्रहालय जस्ता स्थान गन्तव्यमा सूचिकृत छन् ।