कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्ता गठबन्धनको सुझाव


काठमाडौं, (नेस) । 

कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सत्ता गठबन्धनले बिदामा बसेर कार्यवाहक तोक्न सुझाव दिएका छन् ।प्रधानन्यायाधीश जबराले गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था लागू गराउनुभएको छ । तर, कोरोना संक्रमित भए पनि जबराले आफ्नो कार्यवाहक तोक्नुभएको छैन । आन्दोलनरत पक्षको मागअनुसार सर्वोच्च अदालतमा पहिलोपटक गोला प्रक्रियाबाट न्यायाधीशहरूको मुद्दा र इजलास तोक्ने निर्णय गरिएको हो ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेता सहभागी बैठकले लामो समयदेखि अदालत अवरोध भइरहेको र प्रधानन्यायाधीश पनि बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।यसअघि जबरा र नेपाल बार एसोसिएसन बीचको विवादलाई आन्तरिक मामिला भन्दै पन्छिँदै आएको सत्ता गठबन्धनले पहिलोपटक प्रधानन्यायाधीश जबरालाई कार्यवाहक तोक्न सुझाएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको बताउनुभयो ।सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागिता रहेको थियो ।