कांग्रेसको १६ जिल्लामा अधिवेशन स्थगन


काठमाडौं, (नेस) । 

नेपाली कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूकोे अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेको छ । प्रदेश–२ को आठ जिल्लाका साथै सिन्धुली, मकवनपुर, सिन्धुपाल्चोक, चितवन, नवलपरासी पूर्व, बाँके, अछाम र कैलाली जिल्लाको अधिवेशन गर्न बाँकी छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बिहीबार बसेको निर्वाचन समितिको बैठकले प्रदेश अधिवेशन शुरू भएको र मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्नुपर्ने भएकाले बाँकी १६ जिल्लाको अधिवेशन स्थगन गरिएको हो ।

निर्वाचन समितिका अनुसार १४औं महाधिवेशनपश्चात् जिल्ला अधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरिनेछ ।हिजो बिहीबारदेखि प्रदेश अधिवेशन शुरु भएको कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयनपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र त्यसमाथि जाँचबुझ गर्ने समय शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिएको छ ।साथै दिउँसो २ बजेसम्ममा दाबी विरोधउपर निर्वाचन समितिले निर्णय पनि गरिसक्नेछ । सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । मनोनयन फिर्ता लिने समय सोही दिन साढे ६ बजेदेखि साढे ७ बजेसम्म राखेको निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली शुक्रबार साढे ७ बजे प्रकाशित गर्नेछ । मतदान शनिबार बिहान ८ बजेबाट शुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियाको लागि ६ वटा प्रदेशमा प्रतिनिधिहरूको नामावली पठाइसकेको छ । प्रदेश नम्बर २ मा भने आज शुक्रबार नामावली पठाउने निर्वाचन समितिका सचिव श्रेष्ठले बताउनुभयो । यसअघि कांग्रेस निर्वाचन समितिले बिहीबार बिहानै मतदाताको नामावली प्रकाशित गर्ने जनाएको थियो ।

मंसिर २४ देखि हुने महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयनपत्र माथि पर्ने दाबी विरोध दर्ता र सो उपरको निर्णय मंसिर २६ गते बिहान ८ बजेदेखि १२ बजेसम्ममा गरिनेछ । उम्मेदवारको पहिलो नामावली सोही दिन १२ बजेदेखि ३ बजेसम्म प्रकाशन गर्ने तयारी गरेको निर्वाचन समितिले मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय २६ गते ३ बजेदेखि ५ बजेसम्म तोकेको छ । मतदान प्रक्रिया मंसिर २७ गते बिहान ८ बजेबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ ।