चुनावमा घरजग्गा दिन्छाै‌ भन्छन् पछि फर्केर हेर्दैनन्

घमिरका सुकुम्बासीको गुनासो


अनिल खत्री, गुल्मी  । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरका सबै घरमा बत्ती बल्न लागेको वर्षाैं भइसक्यो । स्थानीय सरकार आएपछि प्रत्येकका घरमा खानेपानी र खरका छाना भएका घरमा टिन वितरण गरी गाउँ नै खरको छानामुक्त हुन थाल्यो ।

तर, सोही वडाको शिलादीका १४ परिवारको घरमा भने अहिलेसम्म बिजुलीबत्ती, खानेपानीको धारा, खरको छाना नै फेरिएको छैन । यो सबैको कारण हो सुकुम्बासी । आफू बसोबास गरेको जग्गाको लालपुर्जा नहुँदा उनीहरु यी सबै सेवा–सुविधाबाट वञ्चित भएका छन् । मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी सडकको छेउमै यो बस्ती छ । यस बस्तीको नजिकबाट प्रत्येक दिन सरोकारवाला हिँडिरहेका हुन्छन् तर यसबारे अहिलेसम्म कसैले चासो लिएको देखिँदैन् ।
दुई दशकभन्दा बढी समय भइसक्यो उनीहरु यस ठाउँमा बस्न लागेको तर जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । यसले सरकारबाट पाउने सामान्य सेवा–सुविधाबाटै उनीहरु वञ्चित छन् ।

जहाँ पुग्दा उनीहरु यस देशका नागरिक नै होइनन् कि भन्ने व्यवहार राज्यबाटै भएको पाइन्छ ।स्थानीय सरकार आएलगतै यस वडामा लगभग सबै घरमा बिजुली पुगेको वडा कार्यालयको दाबी छ । तर, सोही वडाका शिलादी टोलका १४ घर–परिवार भने अहिलेसम्म टुकीकै साहारामा बस्न बाध्य भएको सुकुम्बासी मीना सुनारको भनाइ छ । सबैको घरमा खानेपानी धारा पुग्दा उनीहरु बर्खाको बेलामा मूल फुटेर आएको कुलोको पानी खान बाध्य छन् ।हिउँदका बेला कुलोको पानी सुक्छ खोलाको पानी पिउनुपर्ने अर्को बाध्यता उनीहरुको छ । ‘चुनावका बेलामा विभिन्न प्रलोभन देखाएर भोट माग्ने गरेका नेता चुनाव सकिएपछि कहिल्यै फर्केर आएनन् ।’ –सुनारको कथन छ ।

उनीहरुको भोटले राज्यको विभिन्न ठाउँमा पुग्छन् । तर, उनीहरुको समस्या जिउकातिउ नै छ । भोट माग्दा टिन पनि दिन्छौं, घर पनि दिन्छौं, लालपुर्जा पनि दिन्छौं भनेकाले भोट दियौं’, सुकुम्बासी गोकर्णबहादुर सार्की भन्नुहुन्छ– ‘अहिले हामीलाई समस्या पर्दा कोही आउँदैनन् ।’ स्थानीय सरकारको ५ वर्षको अवधि पनि सकिन लाग्दा अहिलेसम्म यहाँका सुकुम्बासीहरुले स्थानीय सरकार भएको महशुुस गर्न नसकेको उहाँको भनाइ छ ।सरकार आफूले दिने सेवा–सुविधा त परको कुरा सुकुम्बासीहरुले आफैंले बारीमा उब्जनी गरेको अन्नबाली समेत खान पाएनन् । अन्नबाली लगाएको ठाउँमा बिरुवा नर्सरी उत्पादन गर्ने भन्दै एकाएक डोजर लगाएर भित्र्याने बेला भएको बाली सखाप पारिदिएको सुकुम्बासी सुन्तली सुनार र पोमबहादुर सुनार दम्पतीको दुखेसो छ । ‘हामीलाई यहाँभन्दा दुःख के हुनु अहिले भुटेर खाने मकै पनि छैनन् ।’ –गहभरि आँसु पार्दै सुन्तली सुनार भन्नुहुन्छ ।

उनीहरुजस्तै अन्य वडावासी टिनको छानामुनि बस्दा उनीहरु चुहिने घरमा बस्छन्, यो सबैको कारण हो लालपुर्जा । वषांैदेखि गरीखाएको जग्गाको लालपुर्जा र राज्यको सुविधा पाउनुपर्ने सुकुम्बासीहरुको माग रहेको छ । जिल्लामा मात्रै भूमिसम्बन्धी समस्या समाधान आयोगका संयोजक र सदस्यहरुले नियुक्ति लिएको समयदेखि गत असार मसान्तसम्म सुकुम्बासी आयोगका नाममा कुल १३ लाख ३ हजार ३ सय ६२ रुपियाँ खर्च भइसकेको छ । तर, यसको उपलब्धि भने शून्य नै छ ।