राप्रपा महाधिवेशन: नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता



नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा, पशुपतिशमशेर जबराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राप्रपा राष्ट्रवादी बीचको एकतापछि हुन लागेको यो महाधिवेशनमा सहमतिमा नेतृत्व चयनलाई पहिलो प्राथमिकता दिइएको छ ।

अधिवेशनमा नेतृत्वको दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रनुभएको छ । थापालाई राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणालगायतका नेताहरूको समर्थन छ भने लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणालगायतका नेताहरूको समर्थन रहेको छ ।बुधबार महाधिवेशन उद्घाटन कार्यक्रममा राप्रपाका संस्थापक नेता चन्दले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नु उपयुक्त हुने बताउनुभयो । राप्रपाका अध्यक्षद्वय राणा र लोहनीले पनि सहमतिमै नेतृत्व चयन होस् भन्ने हेतुले यो अधिवेशनमा नेतृत्व दाबी नगरेको उल्लेख गर्दै सहमतिका साथ नेतृत्व चयन गर्न अझै प्रयास भइरहेको बताउनुभएको थियो ।

राप्रपाले २०७३ सालमा पनि एकता महाधिवेशन गरी शक्ति सञ्चय गरेको थियो । अघिल्लो एकता महाधिवेशन लगत्तै यो पार्टीबाट डा. प्रकाशचन्द्र लोहनी अलग भई एकीकृत राप्रपा राष्ट्रवादी पार्टीको नेतृत्व गर्नुभएको थियो । ०७४ साल श्रावणमा यो पार्टीबाट पशुपति शमशेर जबरा पनि अलग भई राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको थियो । ०७५ सालमा लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादी र राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक एकीकृत भई राप्रपा संयुक्त गठन भएको थियो । ०७६ साल फागुनमा कमल थापाले नेतृत्व गरेको राप्रपा र राप्रपा संयुक्तबीच पार्टीमा तीन जना अध्यक्ष रहने गरी एकता भएको थियो ।महाधिवेशन उद्घाटन शत्रमा शुभकामना दिँदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन पार्टी एक भएर एकता महाधिवेशन गनुृ राम्रो कुरा भएको उल्लेख गर्दै हाम्रो देशमा कम राजनीतिक दल हुनु उपयुक्त हुने धारणा राख्नुभएको थियो । नेपालमा रहेका राजनीतिक दलहरूको विचार दर्शन फरक–फरक भए पनि राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।

कार्यक्रममा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशनको सफलताको शुभकामना दिँदै राप्रपालाई अग्रगामी राष्ट्रवादी बन्न आग्रह गर्नुभएको थियो । इतिहासप्रति गर्व गर्दा वर्तमानलाई भुल्न नहुने भन्दै वर्तमानको धरातलमा बसेर भविष्य कोर्न पनि प्रचण्डले आग्रह गर्नुभएको थियो । माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्न राप्रपाले गरेको सहयोग अतुलनीय रहेको पनि उल्लेख गर्नुभएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको मूल कारण आन्तरिक हुने भन्दै मूल कारण बाह्य ठानिए गम्भीर भुल हुने बताउनुभएको थियो । राप्रपा परिवर्तनको संवाहक बन्नुपर्ने भन्दै उहाँले राप्रपा महाधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।

नेतृत्व चयनमा तल्लो तहको अधिवेशनबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने यो अधिवेशनमा ७ सय ५३ पालिकाका अध्यक्ष, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अध्यक्ष, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष र ७७ जिल्ला अध्यक्ष पनि महाधिवेशनमा पदेन प्रतिनिधिका रूपमा मतदाता रहन्छन् ।राजसंस्था र हिन्दूराज्यको पक्षधर राप्रपा संघीयता खारेजीको पक्षमा छ । राप्रपा परिवर्तन विरोधी होइन भन्दै राप्रपा अध्यक्ष कमल थापाले भन्नुभयो– ‘राजादेखि विप्लव माओवादीसम्म सबै नेपाली अटाउने राजनीतिक व्यवस्था राप्रपाले चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्