मारुती सिमेन्टलाई बचाउने चलखेल कारबाही गर्ने निकाय नै मौन


नेपाल समाचारपत्र, काठमाडौं । 

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टलाई कारबाहीबाट बचाउनका लागि चलखेल शुरू भएको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन रहेकाले बजारमा गइसकेको सिमेन्ट उठाउन निर्देशन दिए पनि अटेर गर्दै आएको मारुती सिमेन्टलाई भित्रभित्रै जोगाउने चलेखल शुरू भएको हो ।
विभागले १५ दिनअघि कारबाहीको प्रक्रिया अगाडि बढाए पनि त्यसलाई अघि बढाउन भने आनाकानी शुरु गरेको छ । गत मंसिर १ गते विभागले १५ दिनभित्र स्पष्टीकरण दिन आदेश दिँदै मारुती सिमेन्टलाई पत्राचार गरेको थियो ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठग्दै आएको उक्त कम्पनीले अहिले पनि देशको एक नम्बरको सिमेन्ट भनेर गलत दाबी गर्दै थप भ्रम सिर्जना गर्दै आएको छ । मारुती सिमेन्ट गुणस्तरहीन रहेको प्रमाणित भएपछि विकास निर्माणको काममा प्रयोग नगर्न सरकारी निकायबाट निर्देशन भइसकेको छ । उपभोक्ताले समेत गुणस्तरहीन सिमेन्ट प्रयोग गर्न छोडेको मारुती सिमेन्ट विक्रेताहरू बताउँछन् ।मारुती सिमेन्टले गत साउनमा उत्पादन गरेको ४३ ग्रेडको ब्याच नं. १६–२०७८ रहेको सिमेन्टको नमुना गुणस्तर विभागले भदौ १६ मा परीक्षण गरेको थियो । तर, नमुनाको परीक्षण गरेको प्रतिवेदन झण्डै तीन महिनापछि सार्वजनिक गर्दै विभागले सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्री नगर्न निर्देशन दिनु शंकास्पद भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले कारबाही गर्न विज्ञप्ति जारी गरेको लामो समय बितिसक्दा समेत कार्यान्वयन गर्न ध्यान नदिनु शकास्पद भएको बताउनुहुन्छ । विभागले सिमेन्ट उत्पादनको तीन दिन, सात दिन र २८ दिनको नमुना परीक्षणको आधारमा मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ । त्यसरी परीक्षण गर्दा तीन दिनको सिमेन्टमा न्यूनतम १६ एमपीए, सात दिनको सिमेन्टमा न्यूनतम २२ एमपीए र २८ दिनको सिमेन्टमा न्यूनतम ३३ एमपीए हुनुपर्ने मापदण्ड राखेको छ ।

तर, मारुती सिमेन्टबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ सात र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । यसबाट मारुती सिमेन्टले सिमेन्टमा चाहिने अत्यावश्यक कच्चा पदार्थ कमसल र सस्तो प्रयोग गरिरहेको प्रस्ट भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सिमेन्टको गुणस्तर सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगाको गुणस्तरले महत्व राख्दछ । नेपाल गुणस्तर तथा नापतौल विभागले यही नमुनाको आधारमा गुणस्तर परीक्षण गरेर मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ ।मारुती सिमेन्टले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठग्दा समेत सरकारी निकालले कारबाही गर्ने आँट गर्न नसकेको टिप्पणी गर्दै महर्जन भन्नुहुन्छ– ‘खुलेआम रूपमा गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर पनि मारुती सिमेन्टले नेपालको नम्बर वान सिमेन्ट भनेर गलत दाबी गर्नु, योभन्दा लाजमर्दो विषय अरू के हुन सक्छ ?’

यस अवधिमा मारुती सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका विकास निर्माण, घर तथा भवनहरूको आयु के हुने भन्ने विषयले प्रश्न जन्माएको छ । विभागले गुणस्तरहीन भएको भन्दै विज्ञप्ति जारी गरेपछि सरकारले अगाडि बढाएको विकास निर्माणको काममा मारुती सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ भने निजी घर निर्माणमा पनि उपभोक्ताहरूले उक्त सिमेन्टको प्रयोग गर्न छाड्ने क्रम बढेको छ ।