पुल्चोकको वडा नमुनाका रूपमा खडा



पुल्चोकस्थित ललितपुर महानगरपालिका–३ वडा कार्यालयले नागरिकको जीवनमा कति नजिकबाट र कुन हदसम्म छुने गरी काम गर्न सकिन्छ भन्ने प्रश्नको नमुना उत्तर दिने प्रयास गरेको छ ।

वडाको भवन बाहिरबाट झट्ट हेर्दा छुट्टै महसुस गराउने किसिमको छ । भवन भित्रबाट प्रवाह हुने विविध सेवालाई हेर्ने जो–कोहीलाई पनि वडाले सर्वसाधारणको जीवनलाई निकै नजिकबाट स्पर्श गर्ने प्रयास गरेको छ भन्ने भाव पैदा गराउँदछ ।मानिसलाई सबैभन्दा बढी अर्काको साथ चाहिने समय भनेको मृत्यु हुँदा वा बिरामी हुँदा नै हो । यसलाई अनुभूत गरी वडाले कसैको मृत्यु हुँदा शववाहनको सेवा दिँदै आएको छ । सो सेवा निःशुल्क रूपमा उपलब्ध गराउने सँगै मृत्यु भएको घटना ३५ दिनभित्रै वडामा कार्यालयमा दर्ता गराएमा मृतक परिवारलाई उल्टै ३ हजार रुपियाँ पनि प्रदान गर्दै आएको छ ।

‘परिवारका सदस्य, आफन्त वा साथीभाइ कोही बिरामीको उपचारका क्रममा रगत चाहिएको बेला कहाँ भन्ने ? कसलाई भन्ने ? जो–कोहीलाई ठ्याक्कै थाहा नहुन सक्छ । यस्तो बेला वडामा सम्पर्क गरेमा वडाले नै रगत मिलाइदिने कार्य शुरु गरिएको छ’, –वडाध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो– ‘सेवा लिनका लागि प्रत्येक घरका घरमुलीलाई वडा परिचय वितरण गरेको छ । वडाले दिएको परिचयपत्र लिई आएमा निःशुल्करूपमा रगतको व्यवस्था मिलाइदिने व्यवस्था गरेका छौं । ब्लड बैंक र वडाबीच भएको सम्झौताअनुसार रगत मिलाइदिएपछि सोको पैसा वडाले तिर्नेछ ।’

७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर सिफारिस पनि दिँदै आएको छ । तर, वडा कार्यालयमा आउन चाहेमा साधनको चिन्ता लिनुपर्ने अवस्था छैन । साधन नहुने सेवाग्राही वडा कार्यालय आउनुपरेमा आठ जना अटाउने विद्युतीय गाडी पनि सञ्चालन गरिएको छ । विशेषतः ज्येष्ठ नागरिक, अपांगता भएका, अशक्त, घर–परिवारमा कुनै साधन नभएका मानिसलाई लक्षित गरी गाडी सञ्चालनमा ल्याइएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।तर, विशेष परिस्थितिमा काम विशेषले वा सिफारिस लिन आउनुपरेमा आफ्नो साधन नहुने वडाबासीले सो गाडी चढेर पुल्चोकस्थित वडा कार्यालयमा आउन वडा कार्यालयले सार्वजनिकरूपमा आग्रह गर्दै आएको छ । यसका लागि वडाबासीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन । तर, वडाले दिएको परिचयपत्र भने अनिवार्य देखाउनुपर्ने छ ।

विद्युतीय गाडी वडाको सीमानाको बाटो हुँदै चलिरहेको छ । कार्यालय आउने र जाने समयबाहेक दिउँसो दुईपटक गरी दैनिक चारपटक गाडीले वडाको पूरै क्षेत्र फन्को लगाउने गर्दछ । पाटनढाकोबाट कृष्णगल्ली, बखुण्डोल, झम्सिखेल, सानेपा, चक्रपथ, धोबीघाट, सेन्टमेरिज गल्ली तथा दमकलको बाटो हुँदै पुल्चोकस्थित वडा कार्यालयको रुटमा गाडी चल्ने वडा कार्यालयले जनाएको छ । वडामा सेवा लिन आउने बाहेक रुटमा पायक पर्ने वडाबासी सबैले गाडी चढ्न सक्ने पनि वडाध्यक्ष महर्जनको भनाइ छ । सो वडामा २२ सय घरपरिवार रहेको वडाले जनाएको छ ।

वडाले शिक्षा क्षेत्रमा गरेको काम पनि अरूका लागि उदाहरणीय बन्न सक्छ । प्रत्येक वर्ष १ एक जना आर्थिक अवस्थामा कमजोर भएका सामुदायिक विद्यालयका विधार्थीलाई २५ हजार रुपियाँ छात्रवृत्ति दिँदै आएको छ । सामुदायिक विद्यालयमा शिक्षक–शिक्षिकाले राम्ररी पढाएका वा नपढाएको, कुन विषय पढाइरहेको छ भनी हेर्ने प्रविधिमार्फत सबैले हेर्न सकिने व्यवस्था गरिएको छ । मोबाइलमा निगरानी एप्स डाउनलोड गरी हेर्न सकिने छ । वडाले प्रवाह हुने सेवा दृष्टिविहीनहरुले सहजै थाहा पाउन सकिन्छ । वडाभित्र प्रवेश गर्नासाथ वडाले प्रवाह गर्ने सेवाबारे अडियो सुन्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, सो वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा पनि रहेको छ । ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन वडाले नै सञ्चालनमा ल्याएको थियो । जेट मेसिनले २० मिटर गहिराइसम्म ढल सफा गर्न सक्ने, सफा पानीसँगै ढलको पानी तानेर राख्न, ढलभित्र बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेसिनले जाम भएको ढलको पानी ट्याङ्कीमा राख्ने र सफा पानीले हाई प्रेसरले सफा गर्ने गर्दछ । सोही वडाबासी समेत रहेका महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको शब्दमा भन्नुपर्दा वडाले उच्च प्रविधिमार्फत गुणस्तरीय सेवा दिएको छ । यस कार्यले अरू वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन पनि गरेको छ ।

अहिले वडाले मेरो प्याथलोजी र व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । नागरिकको जीवनमा वडालाई कसरी जोड्न सकिन्छ भन्ने सोचकै उपजका रूपमा यी कार्यहरु रहेको वडाध्यक्ष महर्जनले बताउनुभयो ।अनलाइन सिफारिस, सफ्टवेयरमार्फत दर्ता चलानी, फाइनल डिजिटाइजेसनसमेत वडाको सेवा प्रवाहमा प्रविधिमैत्रीको झल्को दिने गरेको छ । ‘थाहा पाएसम्म, जानेसम्म यस वडाबाट प्रवाह हुने विविध सेवाहरु देशका सम्पूर्ण वडा कार्यालयहरुको लागि उदाहरण बन्न सक्दछ’, वडाबासी समेत रहेका वरिष्ठ पत्रकार कनकमणि दीक्षित भन्नुहुन्छ– ‘जीवनलाई छुन, मनमस्तिष्कमा प्रभाव जमाउन धेरै मानिस जम्मा गरी, धेरै पैसा खर्च गरी ठूल्ठूला कार्यक्रम गर्नुपर्दछ भन्ने अनिवार्य नभएको एउटा ठूलो उदाहरण यस वडाले दिएको छ ।’

प्रस्तुति: सुनील महर्जन

प्रतिक्रिया दिनुहोस्