आज विश्व शौचालय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

६७ करोड ३० लाख मानिसहरु अझै बाहिरै शौच



न्युज अफ नेपाल,काठमाडौं ।

आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्त्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।

नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्त्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग मानिन्छ ।

नेपाललाई सन् २०३० सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि  ६७ करोड ३० लाख मानिसहरु शौचालयको पहुँच बाहिर छ ।

तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गका व्यस्त चोकहरूमा भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन्। सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको छ ।

फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसामुक्त अभियानले सार्थकता पाउने सार्वजनिक शौचालयको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयमा देखिएको समस्या सुधारका लागि तीन वटा पक्ष अपनाउनु पर्ने बताएका छन ।

  • बहालमुखी नीति रटेन्डर प्रक्रियाबाट शौचालय ठेक्कामा दिने परिपाटी हटाउनुपर्छ । उनका अनुसार रत्नपार्क वरिपरिका शौचालयवाट महानगरपालिकाले वार्षिक एक मुष्ठ प्रति शौचालय १७ देखि ६१ लाख बहाल उठाउँछ ।
  • शौचालय सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी शौचालय सञ्चालन गर्नुपर्छ ।
  •  सार्वजनिक शौचालयको सेवा विस्तार गर्न राजनीतिक इच्छा शक्ति हुनुसाथै शौचालय सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी शौचालय सञ्चालन गर्नुपर्छ ।

हामीले ललितपुर र काठमाडौंमा सार्वजनिक शौचालय स्थापना गरेर गर्न सकिन्छ भन्ने नमूना प्रस्तुत गरेका छौँ। शौचालय पूर्वाधार मात्र हैन यो व्यवसायिक रुपमा चल्नु पर्छ र यसले वातावरणीय प्रभाव न्यून हुने उनकाे भनाइ रहेकाे  छ ।

प्रतिक्रिया दिनुहोस्