लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन


नेपाल समाचारपत्र, काठमाडौं । 

आन्तरिक राजस्व विभागले लक्ष्यको ९५ दशमलव ३२ प्रतिशत लक्ष्य हासिल गरेको छ । विभागको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा ४ खर्ब २९ अर्ब २७ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो । जसमध्ये २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क राजस्व सङ्कलन भएको छ ।

बुधबार १०औं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने पनि घोषणा गर्नुभयो ।

‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महशुस गरें’, मन्त्री शर्माले भन्नुभयो–‘समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउछु ।’ मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउनुहुँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गर्नुभयो । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर संकलनमा समेत असर गरिरहेको भन्नुहुँदै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिनुभयो ।उहाँले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताउनुभयो ।

त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताउनुभयो । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउनुहुँदै उहाँले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सकारात्मक कामहरू शुरू हुन्छन्, त्यो राम्रो कुरा हो । तर, सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उहाँले भन्नुभयो–‘शुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु ।’कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैंले छाप्ने प्रतिबद्धता गर्नुभएको हो ।

यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउनुहुँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौं भन्ने लाग्छ, तिर्न परे पनि कम’, उहाँले भन्नुभयो–‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पु¥याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताउनुभयो ।

करदाताहरू सम्मानित

सरकारले सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । १०औं कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।सम्मानित हुनेमा नेपाल टेलिकम सबैभन्दा बढी आयकर दाखिला गर्ने करदता रहेको छ । यस्तै निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् ९नेपाल० प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रिटेक प्रालि रहेका छन् ।

सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स र वस्तु व्यापारको कारोबारमा भाटभेटनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएका छन् ।

यसैगरी मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्यअभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रालि सम्मानित भएका छन् । मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इण्डष्ट्री र व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थशम्सेर राणा पनि सम्मानित भएका छन् । विभागले उत्कृष्ट सेवा प्रवाह गर्ने १० कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ ।