नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वका विभिन्न मुलुकमा जस्तै ललितपुरमा पनि ‘आर्कियोलोजी गार्डेन’ बनाउने वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको सपना अझै पूरा भएको छैन ।२०१८ सालमा पुरातत्व विभागको निर्देशक हुँदा नै पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचा आर्कियोलोजी गार्डेन बनाउन उपर्युक्त हुने निष्कर्ष निकाल्नुभएको थियो ।
सो बगैंचाको क्षेत्रफल करिब १५ रोपनी रहेको छ । इतिहास र पुरातत्वको अध्ययन अन्वेषण गर्नेहरूको निम्ति ‘आर्कियोलोजी गार्डेन’ को निकै महत्व रहने वरिष्ठ संस्कृतिविद् जोशीको भनाइ छ । जोशीका अनुसार छरिएर रहेका, बाटोमा यत्रतत्र राखिएका प्राचीन मूर्ति, शिलापत्र र अन्य ऐतिहासिक सामग्रीलाई संरक्षण हुने गरी यस बगैंचामा राख्न आर्कियोलोजी गार्डेनको अवधारणा हो ।आर्कियोलोजी गार्डेनको अवधारणा वरिष्ठ संस्कृतिविद् जोशीले पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय र ललितपुर महानगरपालिका समक्ष सार्वजनिक रूपमा राख्दै आउनुभएको छ ।
अस्ट्रेलिया, अमेरिका र फ्रान्सलगायत विश्वका विभिन्न देशमा झै ललितपुरको भण्डारखाल बगैंचालाई आर्कियोलोजी गार्र्डेन रूपमा विकसित गर्न सके राष्ट्रकै गौरव बढ्ने जोशीको बुझाई रहेको छ ।उहाँ भन्नुहुन्छ– ‘इतिहासको निम्ति, संस्कृतिको निम्ति प्राज्ञिक क्षेत्रमा अध्ययन र अन्वेषण गर्नका निम्ति यो ठाउँ ज्यादै उपयुक्त हुने निर्देशक हुँदादेखिको मेरो सोच थियो ।
म पाटनको मान्छे । मेरो घर पनि यहीं नजिकै छ । त्यसैले पनि शुरुदेखि नै यो ठाउँको महत्वबारे थाहा थियो ।’ पाटन संग्रहालय विकास समितिको २४औं वार्षिकोत्सवको उद्घाटन गर्दै जोशीले सुनाउनुभयो– ‘म चाहन्थे, अरू देशमा झाै ठूलो नभए पनि भण्डारखाल बगैंचाले जति चर्चेको जग्गा छ, त्यसमा बगैचाको समेत शोभा रहने गरी ठाउँ–ठाउँमा फ्याकिएर राखिएका, यत्रतत्र रहेका, कहींकतै अवशेषका रूपमा रहेका काठ, ढुंगाका मूर्तिहरू उठाएर यहाँ राख्न पाए राम्रो हुने विचार थियो ।’
उहाँको अनुसार १५ सालअघि त्यहाँ ब्रिगेडियर जनरलको हुकुम चल्थ्यो । ब्रिगेडियर बन्नेमा सबै राणा पृष्ठभूमिका हुन्थे । भण्डारखाल क्षेत्रमा राणाहरूले ठेक्कामा तरकारी लगाउँथे । सरकारी सम्पत्तिमा उनीहरू मोज गर्थे । उनीहरूकै हुकुम चल्थ्यो । त्यसैले आफू निर्देशक हुँदा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीलाई भेटेर लथालिंग रहेको बगैंचालाई पुरातात्विक बगैंचाका रूपमा विकास गर्नुपर्ने विचार राखेको जोशीले बताउनुभयो ।
तत्कालीन मन्त्री चौधरीले जोशीको प्रस्तावलाई सकारात्मक रूपमा लिएपछि मन्त्रिपरिषद्बाट पास गराएर बगैंचा बनाएको जोशी स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो– ‘कहिंकतै फेला परेका मूर्तिहरू एक÷दुई वटा ल्याएर पनि यहाँ राखिएको थियो । कालखण्डसँगै शासन व्यवस्था बदलिए पनि यो अवधारणाले मूर्त रूप लिन पाएको छैन । अहिले त देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार छ । कुनै एकले त यस विषयमा चासो दिए पनि भो ।’
चार वर्षअघि समितिको २१औं वार्षिकोत्सवमा पनि जोशीले यही कुरो दोहो-याउनुभएको थियो । २०७६ सालमा ललितपुर महानगरपालिकाले जोशीको शतवार्षिकी मनाउने क्रममा जोशीको सो अवधारणालाई टेवा पुग्ने गरी सो बगैंचा उद्घाटन गराउने कार्यक्रम अघि सारिएको थियो । जोशीको अवधारणा पूरा गर्न महानगरपालिकाले ठोस कार्य गर्ने मेयर चिरिबाबु महर्जनले कयौंपटक सार्वजनिक रूपमा बोल्नुभएको थियो ।
हाल फ्रान्स भ्रमणमा रहनुभएका मेयर महर्जनले त्यहाँ जोशीको प्रतीमा बनाउने भनी चर्चा गरिरहँदा तीन वर्षअघिको अपुरो प्रतिबद्धताले त्यसलाई गिज्याइरहेको कार्यपालिका सदस्यहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालाले आर्कियोलोजी गार्डेनको अवधारणालाई गम्भीर रूपमा लिइने बताउनुभयो ।











प्रतिक्रिया