एकीकृत समाजवादी अध्यक्ष नेपाल र पर्यटन मन्त्री आले डोटीमा


विमल विष्ट, डोटी,  । 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले डोटी आइपुग्नु भएको छ ।

जिल्लाको सबै भन्दा ठुलो तथा पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरु यहाँ आइपुग्नु भएको हो । हेलिकप्टर मार्फत यहाँ आइपुग्नु भएका उहाँहरूले आज बुधवार बिहान यहाँको जिल्ला सदरमुकाम सिलगढीमा रहेको अर्को प्रसिद्ध शैलेश्वरी मन्दीमा पूजा आजा गर्नु भएको छ ।

साथै अध्यक्ष नेपाल र मन्त्री आले आजै बडिकेदार धार्मिक तीर्थस्थलमा पूजा आजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि बडिकेदारको थप प्रचार प्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथिमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ ।

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ ।

प्राय जसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुषहरू पुत्र लाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरू आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।