यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती


पुष्कर बुढाथोकी, भक्तपुर ।

व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नसक्दा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले सास्ती ब्यहोर्दै आएका छन् ।

यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । कार्यालयमा सेवाग्राहीको भिड देखिन्छ । कोरोना महामारीका बाबजुद न भौतिक दुरी कायम भएको छ भने न स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना भएको छ ।

सेवाग्राही समेत रहेका नेपाल निर्माण ब्यबसायी महासंघका पुर्व महासचिब रामशरण देउजाले यति हदसम्मको अव्यवस्थित, अकर्मण्यता र लापरबाहीका साथ कार्यालय संन्चालन गरेर सेवाग्राहीलाई सेवा दिएको ढोङ्ग गर्नु भन्दा बरु सवारी चालक अनुमतिपत्रको परिक्षा लिने र नवीकरण गर्ने कार्य रोक्का गर्नु नै उपयुक्त हो कि भन्ने आक्रोस पोखेका छन् ।

देउजाले भौतिक पुर्बाधार एबम् यातायात व्यवस्था मन्त्रालयका सचिबलाई एक पटक बिहानको ११ देखि १ बजे सम्मको समयमा जगाती स्थित यातायात व्यवस्था कार्यालय निरीक्षण गरिदिनहुन सबिनय हार्दिक अनुरोध गर्दै यहाँको अबस्था हेर्दा हजुरलाई पनि पक्कै यस्तै अनुभुती हुने बिचार राख्नुभएको छ ।पुर्ब एथेष्ट सुचना प्रवाह नगरी, निर्दिष्ट प्रक्रिया बिना अस्तब्यस्त पाराले यसरी यो २१ औं शताब्दिमा त्यो पनि अनलाइन भनिएको प्रणालीबाट सेवा दिनु निश्चय पनि लज्जास्पद बिषय नै हो भन्ने लाग्दछ ,देउजाले सामाजिक संजालमा लेखेका छन् ।

काभ्रेको बनेपाबाट आएकी सिर्जना प्रधानले सेवाग्राहीका लागि निकै सास्ती हुने गरेको ,उभिएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको र कोरोनाको महामारीबीच टोकल प्रणाली भएको भए सहज हुने थियो भन्नुभयो ।अन्य सरकारी कार्यालयले कर प्रणालीलाई अनलाइन र टोकनमार्फत व्यवस्थित गरे पनि जगातीस्थित यातायात कार्यालयमा लाइन लागेरै कर बुझाउनुपर्ने बाध्यता छ ।बिहानै देखि लाईनमा बसेका भक्तपुरको गुण्डुबाट सवारी चालक अनुमतिपत्रका लागि राजश्व तिर्न आएका सागर खड्काले लाइनमा बसिरहे पनि बीचबीचमा मान्छे घुसेर समयमा पालो नआएको बताउनुभयो ।

कतिपय सेवाग्राहीले बिचौलियामार्फत काम हुने गरेका कारण र लाइन बसेका सेवाग्राहीलाई मर्का पर्ने गरेको गुनासोसमेत गरेका छन् ।यसैसन्दर्भमा प्रतिकृया माग्दा कार्यालय प्रमुख शशिशंकर महर्जनले केही दिनसम्म कार्यालयमा भिड हुने भन्दै यातायात व्यवस्था विभागले नयाँ र पुरानोलाई एकैदिन बोलाईदिएकाले भिड भएको बताउनुभयो ।

दैनिक ३ सय जनासम्मलाई सेवा दिन सक्षम कार्यालयले केही दिन यता ६ सय सेवाग्राहीलाई सेवा दिनु परेकाले भिड भएको कार्यालय प्रमुख महर्जनको भनाइ छ ।यातायातको सवारी चालक सम्बन्धी कार्य अनलाइन प्रणालीबाटै हुने भए पनि कहिलेकाहीँ प्राविधिक कारणले पनि समस्या आउने गरेको कार्यालयको भनाई छ ।लामो समयको कोरोना कहर र लकडाउनका कारण सेवा अबरुद्ध भई सेवाग्राही थपिएर संख्या बढ्दा भिडभाड बढेकोले पुर्ववत रुपमा सामान्य अबस्थामा आउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।