नेपाल–अमेरिका व्यापार प्रवद्र्धनमा आशा


डा. सुमनकुमार रेग्मी

नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि अब दुवै मुलुक एक–आपसमा स्वतन्त्र व्यापारतर्फ उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौं बैठक गतवर्षको मंसिरमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयहरुमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार पहुँच, टीबीटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योको अवस्था र लगानी नीति थिए ।

नेपालको हितमा तय गरिएका यी विषय र नेपालको व्यापार तथा वाणिज्य स्थितिबारे छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पु¥याउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पाँचौं बैठकमा छलफल भएको थियो । नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेका ७७ वटा वस्तुका निकासी प्रवद्र्धन, बाह्यस्तरमा मान्यताप्राप्त प्रयोगशाला, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनकोे विषयमा पनि छलफल हुँदै आएको छ ।

अमेरिकाको सन् २०१५ को व्यापार तथा सहजीकरण एवं कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्माेनाइज्ड ट्यारिफ सेडुलअन्तर्गतका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो । जसमा हस्तकला, सल, भ्रमण सामग्रीलगायतका वस्तु रहेका छन् ।पाँचौं टिफाको बैठकअगाडिका बैठकमा नेसनल आईपी नीतिमार्फत नवीनतालाई पश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको देखिन्छ ।

टिफाको पूर्वप्रारुप

नेपालले वि.सं. २०६६ चैत्र १० गतेसम्म पनि अमेरिकासँग बृहत् व्यापार तथा लगानी सम्झौता गर्ने तयारीको रुपमा पहिलो चरणको वार्ता गरेको थियो । यसअघि टिफा सम्झौताबारे द्विपक्षीय छलफल गर्न नेपालले दुईपटकसम्म तयारी गरेकोमा दुवै पक्षको समय मिलेको थिएन र पछि सरेको थियो ।

२०६६ चैत्रमा यसबारे छलफल गर्न वाणिज्य सचिवको नेतृत्वमा एक टोली अमेरिका गएको थियो । पटक–पटक नेपाली सरकारी–निजी क्षेत्रका टोली अमेरिका जानुको मुख्य उद्देश्य अमेरिकासँग व्यापार तथा लगानी सम्झौता प्रक्रिया अगाडि बढाउनु थियो ।पहिलोपटक व्यापार सम्झौता भएको ६३ वर्षपछि नेपाल र अमेरिकाबीच परिमार्जित स्वरुपमा लगानी र सेवा व्यापारको बृहत् खाका समेटर सम्झौता गर्न धेरै पटक नेपाली टोली अमेरिका गएको थियो ।

सन् १९४७ अप्रिलमा दुई देशबीच पहिलो मैत्री एवं व्यापार सम्झौता भएको थियो । पहिलेको सम्झौताले वस्तु व्यापारको सामान्य विषय समेटेकोमा पछिको सम्झौताले दुई देशबीचको वस्तु एवं सेवा व्यापारलगायत एक–अर्का देशमा हुने लगानी र बौद्धिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिएको छ ।

जीएसपीभन्दा भिन्नै टिफा

नेपाली भ्रमण टोलीले हरेकपटक अमेरिका जाँदा अमेरिकी सरकारले कम विकसित देशलाई दिँदै आएको सामान्य ग्राह्यता प्रणाली वा जीएसपीको उपभोग र बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा अमेरिकाले नेपाललाई गर्न सक्ने सहयोगको बारेमा अमेरिकी अधिकारीसँग वार्ता गर्ने नेपाली जनमानसमा प्रकाशमा ल्याएको थियो । तर वास्तविकरुपमा यस सम्झौताले अमेरिकाबाट नेपालले के पायो ? पक्कै नेपालले भविष्यमा खोजेको सुविधा पाउनेछ ।

यद्यपि अमेरिकाले नेपाललाई अमेरिकी जीएसपी सुविधा उपभोग गर्न सुझाव दिँदै आएको थियो र दिँदै जानेछ । तर अमेरिकाले दिँदै आएको सुविधामा ९५ प्रतिशत वस्तु नेपालमा उत्पादन नहुने बताइन्छ । नेपालले अमेरिकी जीएसपीअन्तर्गत भन्सार सहुलियत प्राप्त गर्ने नेपाली उत्पादनको सूची बनाउन आवश्यक छ ।अमेरिकाले ४ हजार ८ सय वस्तुलाई यस प्रणालीअन्तर्गत भन्सार सहुलियत प्रदान गरेको छ तर नेपालको वस्तु यसमा कति समेटिएको छ त ? नेपालबाट निकासी हुने वस्तुले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन ।

अमेरिकाले सन् २००८ पछि अल्पविकसित देशका ९७ वस्तुलाई सहुलियतपूर्ण प्रवेश दिने प्रतिबद्धता गरे पनि कार्यान्वयनमा आएको छैन ।
अमेरिकाले ४२ देशसँग यस्तो टिफा सम्झौता गरेको छ भने २० देशसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । नेपालले अमेरिकासँग गरेको टिफा सम्झौताको एक उद्देश्यमा नेपाली वस्तुलाई अमेरिकी जीएसपीभन्दा बढी सुविधा पाउन प्रयास गर्नु थियो र पछि पनि हुनेछ ।
नेपालमा उत्पादित तयारी पोशाकलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशको लागि पहल गर्ने त्यस सम्झौताको उद्देश्य थियो । नेपाललाई त्यस्तो सुविधा दिँदा निर्यात वृद्धि भइरहेका बंगलादेश र कम्बोडियाले समेत संयुक्तरुपमा पेस गरेकाले ती देशहरुले समेत पाउने भएकाले अमेरिका नेपालको त्यो मागप्रति सकारात्मक थिएन । सन् २००५ मा मल्टिफाइबर सम्झौता खारेज भएपछि पनि बंगलादेश र कम्बोडियामा उत्पादित तयारी पोशाकको अमेरिका निर्यात बढिरहेको थियो ।

अमेरिकामा तयारी पोशाकको भन्साररहित बजार पहुँच नेपालको प्राथमिकता रहँदै आएको छ । सन् २००१ देखि २०१० सम्ममा नेपाली तयारी पोशाकको अमेरिका निर्यात ९८ प्रतिशत घटेको थियो । सन् २०१३ आउँदा पनि अझ ह्वात्तै बढ्न सकेको छैन । बहुपक्षीय व्यापारिक सम्झौता बजार पहुँचको सम्भावना कम हँुदै गएपछि द्विपक्षीय सम्झौतामार्फत सहुलियतको प्रयास भएको हो । विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठक पनि औपचारिकतामा नै सीमित भएपछि द्विपक्षीय सम्झौताको महत्व भएको हो । तर नेपाली प्रतिनिधिमण्डलले अमेरिका गएर द्विपक्षीय सम्झौतामा अझै सहज बन्ने अवसर हुने बताएका छन् ।

टिफाका अग्रपथ

अमेरिकासँग गरिएको लगानी तथा व्यापार सम्झौता (टिफा) मा विश्व व्यापार संगठनमा भन्दा बढी प्रतिबद्धता गर्न नहुने बताइएको थियो । वस्तु तथा सेवा व्यापार र लगानीका प्रारम्भिक सम्झौताका (टिफा) का लागि पटक–पटक नेपाली टोली अमेरिका गएको थियो ।भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधारबारे जाने टोलीमा प्रस्ट हुनुपर्दछ । टिफाले दुई पक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो तर सम्झौता गरेको बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन ।

नेपालले टिफा कार्यान्वयनसँगै दुई पक्षीय व्यापार सम्झौता गरी तयारी पोशाक, पस्मिनाजस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरमा कम वा छुट पाउने प्रयास भइरहेको थियो र अद्यपि पनि छँदै छ । बौद्धिक सम्पत्तिमाथिको अधिकार र कृषकको बीउबिजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्न सक्छ । तर वि.व्या. संगठनमा नेपालले केही नबोलेकाले यसमा नेपालबाट केही उल्लेख गरिनुहुँदैन कि ? सेवा व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले वि.व्या. संगठनसँग गरेको प्रतिबद्धताको सान्दर्भिकता हुनुपर्छ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौतासमेत गरिसकेको छ ।

टिफाका अघिल्ला बैठकहरुमा नेपालले पाइरहेका भन्सार छुट सुविधाका उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०–११ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको पटक–पटक बैठक बस्दै आएको छ । पहिलोदेखि पाँचौं टिफाको बैठकमा यस्तै समीक्षा हुँदै आएको छ तर निर्यात कार्यान्वयनको अवस्था दयनीय छ ।
अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेस, लगेज, ब्याग प्रयोजनका उत्पादन, सल, ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन, शिरपोशसम्बन्धी वस्तुहरु निर्यात हुने गरेका छन् ।

आ.व. २०७२-७३ मा सुविधाप्राप्त रु. ८७ करोड बराबरका यी वस्तु निर्यात भएकोमा २०७६-७७ मा ती वस्तुको निर्यात रु. ३५ करोडमा सीमित रहेको छ । आ.व. २०७२-७३ को तुलनामा यी वस्तुको निर्यात करिब २०० प्रतिशतले कमी आएको छ । जब ती पाँच वर्षमा अमेरिकातर्फ यी वस्तुको निर्यात वार्षिक औसत वृद्धिदर एक प्रतिशत रहेको थियो । आ.व. २०७६-७७ मा अमेरिकामा ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपियाँको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ३५ कारोड बराबरको वस्तु निकासी भएको थियो ।

यस्तै आ.व. २०७५-७६ मा अमेरिकामा १० अर्ब ८४ करोड ८८ लाख ६२ हजार रुपियाँको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ६८ करोड ४८ लाख १८ हजार रुपियाँको निर्यात भएको थियो ।अमेरिकामा नेपालको कुल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छन् । अमेरिकाको यी ७७ वटा वस्तुको विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिक सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो ।

नेपाल र अमेरिकाबीच भएको टिफाको पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाले प्रविधिक सहयोग गर्ने बताएको थियो । सन् २०१५ देखि २०२५ सम्म नेपाललाई भन्सार छुट दिएका ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्णरुपमा उपयोग गर्नका लागि प्राविधिज्ञ सहयोग उपलब्ध गराउने अमेरिका सहमत भएको थियो ।सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरी निर्यातका लागि दिइएको छुटसमेत कार्यान्वयन गर्न सकिएको छैन् ।

स्वदेशको उत्पादन बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउन सकेका छ्रैनन् । अमेरिकाले निर्यात बढाउन प्राविधिक सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छ्रैन । नेपालको तर्फबाट अन्तरनिकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन । सम्झौता कार्यान्वयनका लागि पाँचपटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा बैठकमा पनि जारी हुुनेछ ।

(लेखक डा. रेग्मी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्व नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)