शालिग्राम संरक्षणका लागि पाल्पामा अभियान


पाल्पा, (नेस) । 

धार्मिक महत्वको शालिग्राम संरक्षणका लागि पाल्पामा अभियान थालिएको छ ।खास गरेर हिन्दू धर्मावलम्बीको आस्था र विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको शालिग्रामको महत्वपूर्ण सम्पदा भएकाले र यसको विशेष महत्व भएको हिसाबले यसको संरक्षण गर्न लागिएको हो ।विभिन्न धार्मिक कार्यमा प्रयोग गरिने शालिग्राम नेपालको कालीगण्डकी नदीमा मात्र पाइने हुनाले यसको संरक्षणका लागि स्थानीयले चासो देखाएका हुन ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका– १ स्थित टापुधाम क्षेत्रमा शालिग्राम संरक्षण गर्न संग्रहालय नै स्थापना गरिएको छ । यहाँ पर्यटन बोर्डबाट रु पाँच लाख र रामपुर नगरपालिकाबाट रु पाँच लाख सहयोगमा संग्रहालय निर्माण गरी अहिले शालिग्रामलाई सुरक्षित साथ राखिएको स्थानीयको भनाइ छ ।

कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा रामपुरको धार्मिक क्षेत्र रामघाटमा करिब पाँच हजारको संख्यामा शालिग्राम संकलन गरेर राखिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष वृद्धिप्रकाश रेग्मीले जानकारी दिनुभयो ।अध्यक्ष रेग्मीका अनुसार धार्मिक नगरी रामघाट क्षेत्रलाई शालिग्राम संरक्षण क्षेत्र र शालिग्रामको महत्व अबका पुस्तामा चिनाउन कालीगण्डकीको तीरमा फेला परेका शालिग्राम शिला बटुलेर यहाँ ल्याएर राख्ने गरिएको हो । उहाँले स्थानीयवासी तथा धार्मिक अगुवाले पनि आफूले फेला पारेका शालिग्राम यहाँ लिएर आउने गरेको जानकारी दिनुभयो ।

संग्रहालय संरक्षण समितिका अध्यक्ष रत्ना थापाले संग्रहालय बनाउन थालेपछि दुई÷चार दिनको समय लगाएर स्थानीयवासी मिलेर कालीगण्डकीको किनारमा पुगेर शालिग्राम खोजेर ल्याएको अभियानमा सबैले सहयोग र साथ दिएकाले संग्रहालय स्थापना गरेर सुरक्षितरूपमा राखिएको बताउनुभयो ।

यसै गरी कालीगण्डकीकै उत्तरबाहिनी क्षेत्रमा पनि शालिग्राम संरक्षण गर्ने गरिएको स्थानीयको भनाइ छ श्रीस्वस्थानी व्रतकथामा पतिव्रता वृन्दाले श्राप दिएकाले भगवान् विष्णु कालान्तरमा शालिग्राम बन्नु परेको उल्लेख छ । त्यसैले शालिग्राम भगवानको अवतार भएको हिन्दू धर्ममा आस्था राख्नेको विश्वास छ ।

विभिन्न दृष्टिले महत्पूर्ण भएको शालिग्रामको पछिल्लो समय चोरी तस्करीसमेत हुने गरेकोमा यसलाई रोक्नका लागि पनि यो अभियान सफल हुने स्थानीयको विश्वास छ ।