पीडित परिवारलाई २ लाख ६६ हजार सहयोग प्रदान


नेपाल समाचारपत्र, ललितपुर ।

ग्यास सिलिन्डर पड्किएर मृत्यु हुने ललितपुरका ताम्रकार परिवारलाई नेवाः समुदायका विभिन्न जातीय समाज, खलः पुचको तर्फबाट २ लाख ६६ हजार रुपैयाँ सहयोगस्वरूप प्रदान गरेको छ ।

२१ वटा जातीय समाजसहित नेवाः देय् दबू ललितपुर शाखा र नेपाल भाषा मंका खलःको तर्फबाट सो रकम जुटाइएको हो । संकलित रकम सम्बन्धित समाज र खलः पुचका प्रतिनिधिहरूको उपस्थितिमा नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारले अनार ताम्रकारलाई प्रदान गर्नुभयो । तण्डुकारले ग्यास पड्किएर ठूलो शोकमा परेको परिवारकोे पीडामा मलम लगाउन जातीय समाजले आफूखुशी दिएको रकम जुटाएर पीडित परिवारलाई प्रदान गरेका भन्दै यस कार्यमा स्थानीय तहको पनि ध्यान जाओस् भन्ने कामना व्यक्त गर्नुभयो ।

कार्तिक १९ गते शुक्रबार घरको तेस्रो तल्लाबाट आगो सल्किएर चौथो तल्लामा ग्यास सिलिन्डर पड्किएको थियो । त्यसबाट ताम्रकार परिवारको चार जनाको घटनास्थलमै निधन भएको थियो । पीडितलाई राहत जुटाउन सक्रिय स्थानीयबासी राजु ताम्रकारले मनकारी व्यक्तिहरूको सहयोग आउने क्रम जारी रहेको बताउँदै यसमा ललितपुर महानगरपालिकाको पनि ध्यान जानुपर्ने धारणा राख्नुभयो ।यसैबीच, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले मृतकका परिवारको सन्तानको पढाई खर्च आफूले व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चक्रबहील टोल सुधार समितिका उपाध्यक्ष अनिल ताम्रकार र उर्मिला नेपाल (केसी) ले पीडित परिवारलाई १५-१५ हजार रुपियाँ सहयोग गर्नुभएको थियो भने पुरुषोत्तम मानन्धर र ज्ञानुराज श्रेष्ठले ५-५ रुपियाँ सहयोग गर्नुभएको थियो । दुर्घटनाबाट ढाड र खुट्टा भाँच्चिएकी सिर्जना ताम्रकारको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचार खर्च हाललाई इटीटोलमा रहेको श्री करुणामय सहकारीले व्यहोरिरहेको छ । मेयर चिरिबाबु महर्जनले ताम्रकारको उपचार खर्च महानगरपालिकाले व्यहोर्नेे वचन दिनुभएको छ ।

पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा नबहाल ग्यास बिस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, संघसंस्थालाई सहयोगको लागि सार्वजनिक रूपमा आह्वान गर्दै आएको छ । त्यसै गरी ताम्रकार समाजले १ लाख रुपियाँ राखेर राहत कोषसमेत खडा गरेको छ ।