अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा



काठमाडौं (नेस)  । 

विवादमा परेको मिलेनियम च्यालेन्ज कर्पोरेसन लागु गराउन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले आज बुधबारबाट नेपाल भ्रमण गर्ने भएका छन् ।

नेपालसँग भएको सम्झौता अनुमोदनका लागि फतिमा सुमार नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि नै अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनल्ड लुले नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका उच्च नेतासँग भेट गर्नुहुने भएको छ । लु भ्रमणको मुख्य एजेन्डा एमसीसी रहेको बताइएको छ ।ठूला दलका केही नेताका साथै साना दल र समूहले एमसीसी नेपालको विदेश नीति र राष्ट्रिय हितविपरित रहेको भन्दै विरोध जनाइरहेका बेला यसलाई पारित गराउनुपर्छ भन्ने अर्को पक्षले दबाब दिइरहेको छ । एमसीसीको विषयलाई लिएर दलहरूबीच तीव्र मतभेद भइरहेको बेला लुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्