एमालेको उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने


नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले १०औं राष्ट्रिय महाधिवेशनमा देशभरबाट ५ लाख कार्यकर्ता सहभागी गराउने भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा नारायणी नदीकिनारमा ५ लाख कार्यकर्ता राख्ने गरी व्यवस्थापन समितिले काम अगाडि बढाएको छ ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदीकिनारमा हुने र उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता उतार्ने एमाले वागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले बताउनुभयो । पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुनेछन्, वागमती प्रदेशबाट मात्र साढे २ लाख कार्यकर्ता सहभागी हुनेछन् ।’ उहाँले उद्घाटन सत्रमा सहभागी हुने कार्यकर्ता व्यवस्थापनका लागि सम्बन्धित जिल्लालाई निर्देशन दिइएको पनि बताउनुभयो । उद्घाटन सत्र नारायणीकिनारामा भए पनि बन्द सत्र भने मंसिर ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुनेछ ।

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र ५ सय अतिथि तथा पत्रकार गरी ४ हजार जनाका लागि होटलको कोठा बुक गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खानेछन् । खाना, खाजा र कोठाका लागि सौराहाका अधिकांश होटल बुकिङ भइसकेको छ । सौराहामा साना–ठूला होटल व्यवसायीसँग गरीे ६५ सय शैय्याको क्षमता छ ।

महाधिवेशनको कार्यतालिकाअनुसार ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट नयाँ नेतृत्वका लागि विद्युतीय भोटिङ शुरु हुनेछ । महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् ।आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतरूपमा अध्यक्ष हुने गृहकार्यमा जुट्नुभएको छ । तर, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालमध्ये एक जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । रावल र भुसाल अध्यक्षमा नउठ्ने भए ओली अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुने भएका छन् । पार्टीभित्र अन्य नेताहरूले भने अझैसम्म अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छैनन् । अध्यक्ष ओली सर्वसम्मत रूपमा निर्वाचित भएको अवस्थामा पदाधिकारीमा पनि सर्वसम्मत हुने जनाइएको छ ।